ललितपुर, २२ माघ । एक दशकदेखि उपत्यकामा ट्याक्सी चलाइरहेका ४१ वर्षीय कुम्भनारायण श्रेष्ठलाई राजनीतिक घटनाक्रमप्रति कुनै चासो थिएन । न उनलाई देश दुनियाँको समाचारमा चासो थियो न त कुन दलले के गरिरहेको छ भन्ने नै थाहा थियो ।
सदाझै बिहीबार पनि एकाबिहानै उनी प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी लिएर सडकमा निस्किए । थापाथलीबाट यात्रु बोकेर सोह्रखुट्टे पुगे । त्यहीँबाट सामाखुशी जाने मान्छे भेटे । सामुखशीबाट फर्किनै लाग्दा एकजना व्यक्तिले चाबहिल जाउँ भने ।
बिहान मजाले उज्यालो पनि नभइसकेको अवस्थामा उनले ती व्यक्तिलाई राम्रोसँग हेर्न पनि पाएका थिएनन् ।
‘मिटरमा जाउ न’ ती व्यक्तिले चाबहिलको कति लिने भनेर सोध्ने वित्तिकै उनले जवाफ फर्काएका थिए । सिटबेल्ट बाँधेर उनी स्टेरिङमा मात्रै के बसेका थिए, नसोचेको दृश्य देख्नु प¥यो । पछाडि राखिएको चकटीमा आगो दन्किरहेको थियो । उनलाई के गरौं, कसो गरौं भयो ।
‘आत्तिँदै चकटी फ्याकेँ तर, अघि चाबहिल जान्छु भन्नेसँगै आएका व्यक्तिले पेट्रोल खन्याइसकेका रहेछन्, निभाउन सम्भव भएन’, श्रेष्ठ भन्छन् । उनका अनुसार आफ्नो गरिखाने ट्याक्सीमा आगो बलिरहँदा हेरिरहन शिवाय केही गर्न सकेनन् ।
‘अहिलेसम्म मैले जानेकै यही ट्याक्सी चलाउन हो, यो पनि जलेपछि साहुले के भन्लान्, एक्दमै चिन्तामा छु’, उनले भने । यद्यपि, सम्बन्धित निकायले क्षतिपूर्ति दिन्छ कि भन्ने आश रहेको उनले सुनाए । ‘म तत्कालै ननिस्किएको भए, आफैंलाई पनि समस्या हुने रहेछ । धन्न ज्यानचाहिँ जोगियो’, श्रेष्ठले भनेका छन् । अनलाईनखबर बाट
र याे पनि हेराै
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- विद्युत प्राधिकरणको लापरबाहीप्रति नगर प्रमुख धामीको आक्रोस
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपालको तयारी