ललितपुर, ९ माघ । दुईवटा प्रदेशमा मुख्यमन्त्रीविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमा कसलाई साथ दिने भन्ने विषयमा नेपाली काङ्ग्रेसभित्र छलफल तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग परामर्श गरिरहेका छन्।
देउवानिकट नेता रमेश लेखकका अनुसार विभिन्न तहमा जारी छलफलबाट प्रदेश सरकारबारे केन्द्रले निर्णय दिनुपर्छ भन्ने र प्रदेशकै संसदीय दललाई जिम्मा दिनु उपयुक्त हुन्छ भन्ने दुवै थरी मत आइरहेका छन्।
जानकारहरूका अनुसार तत्कालै निर्णय गर्नु परेमा देउवा प्रदेशलाई निर्णय गर्ने जिम्मा दिन चाहन्छन् जसले संसद् पुनर्स्थापना भएमा राजनीतिक सहकार्यको विकल्प खुला हुनेछ।
काङ्ग्रेस नेताहरूको कुरा सुन्दा उक्त दल आगामी चुनाव एक्लै लड्ने मनस्थितिमा देखिन्छ।वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट एक नेताले पुनर्स्थापनाबाहेकका विकल्पमा कुरा गर्न नहुने बताए। उनले ’तर अदालतले नै चुनावको बाटो खुला गरिदिएमा काङ्ग्रेस एक्लै लड्ने’ धारणा नाम नखुलाउने सर्तमा सुनाए ।
उनको भनाइ छ, “गत चुनावमा तत्कालीन नेकपा एमाले र माओवादीबीचको चुनावी गठबन्धनसँग एक्लै भिडेको काङ्ग्रेसले उनीहरू विभाजित भएका बेला किन सहारा खोज्छ? नेता लेखकले पनि आउँदो निर्वाचनमा काङ्ग्रेसले कसैसँग तालमेल नगर्ने बताए।
“आन्दोलन पनि काङ्ग्रेसले आफ्नै बलमा गर्छ, निर्वाचन भयो भने पनि कांग्रेस आफ्नै क्षमतामा लड्छ,“ लेखकको भनाइ छ। “खास गरी कम्युनिस्टहरूसँग तालमेल हुँदैन, कम्युनिस्ट बाहेकका तागतहरूसँग के हुन्छ भन्न सकिन्न।तर धेरैको चासो प्रतिनिधिसभा पुनर्स्थापना भयो भने त्यसपछिको समीकरणप्रति छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड एकअर्काको विरुद्ध उभिएका छन्
रोजाइमा ओली कि प्रचण्ड?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने पक्षमा रहेका पुष्पकमल दाहाल प्रचण्डले मुखै फोडिसके कि देउवालाई प्रधानमन्त्री स्वीकार गर्न उनलाई गाह्रो छैन। अर्थात् त्यसको निम्ति थप केही समझदारी भने आवश्यक हुनसक्ने सङ्केत बुझिन्छ।
तर यसअघि पनि ओलीलाई हटाएर काङ्ग्रेससँग सत्ता साझेदारी गर्दा पनि प्रचण्ड र देउवाले आलोपालो सरकारको नेतृत्व गरेका थिए। देउवाको नेतृत्वमा चुनाव हुँदा भने प्रचण्डले नेकपा एमालेसँग तालमेल गरे जसलाई कैयौँ काङ्ग्रेस नेताहरूले विश्वासघातको रूपमा लिने गरेको पाइन्छ ।
त्यस्तो विगत बेहोरेका देउवा र उनको दल काङ्ग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना हुँदा सहयात्राको निम्ति कसलाई रोज्ला? अहिलेसम्मको अवस्थामा काङ्ग्रेसबिना बहुमतको सरकार बन्ने सम्भावना देखिँदैन। बिबिसि
र याे पनि हेराै