काठमाडौँ । बाजुराको जगन्नाथ गाउँपालिका - ६ काप्रेको कर्णाली नदीमा गाईलाई जबर्जस्ती खोलामा बगाइएको घटनाप्रति राष्ट्रिय रुपमा व्यापक आक्रोश उत्पन्न गराएको छ । यस विषयमा सांसदहरूले संसदमा आवाज उठाउँदै दोषीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेका छन ।
सोमवार प्रतिनिधि सभामा बोल्दै सांसद सीता कुमारी राना र धुर्ब बहादुर प्रधान लगायतका सांसदहरूले उक्त घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै सरकारको ध्यानाकर्षण गराएका छन ।
सांसद रानाले सोमवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उक्त घटनालाई गम्भीर उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी छन ।
सांसद रानाले निरिह प्राणीमाथि यस्तो अमानवीय व्यवहार गर्नु सभ्य समाजका लागि लज्जास्पद भएको बताइन भिडियोमा भएको दृश्य संसदमा सम्झाउँदै रानाले भनिन्, ‘गाईलाई खोलामा जान डर लाग्छ, तर निर्दयी मान्छेहरुले ढुंगामुढा प्रहार गरी जबर्जस्ती खोलामा बगाएका छन । यस घटनाले हरेक संवेदनशील मनलाई विचलित बनाएको छ ।’
उनले परम्पराको नाममा गरिने अमानवीय क्रियाकलापहरूको निन्दा गर्दै दोषीहरूमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरिन । '२१औँ शताब्दीमा पनि निर्दोष र निरीह राष्ट्रिय जनावर गाईलाई यसरी मारी पुण्य कमाउने सोच राख्ने व्यक्तिहरू दानवीय मानसिकताका हुन । गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई हिन्दू धर्मअनुसार पूजनीय प्राणी हो । यसरी क्रूरतापूर्वक मार्नु न त नैतिक रूपमा उचित छ, न त धार्मिक दृष्टिले नै स्वीकृत हुन सक्छ,’उनले भनिन् ।
गाई चोरीपैठारी, अवैध निकासी तथा अन्य पशु अधिकार हननका घटनाहरू दिनानुदिन बढ्दै गइरहेको भन्दै सरकारलाई सचेत गराइन । साथै गौमाताको संरक्षणका लागि ठोस नीति ल्याउन, यस्ता घटनालाई नदोहोर्याउन र दोषीलाई कानुनी कठघरामा उभ्याउन सम्बन्धित निकायलाई सांसद रानाले आग्रह गरिन ।
त्यस्तै अर्का सांसद धुर्ब बहादुर प्रधानले पनि सो कार्यको बिरोध गर्दै दोषीलाई कार्वाही गर्न सरकारसँग माग गरे । धर्मनिरपेक्षताको आडमा राष्ट्रिय जनावर गाईको हत्या भइरहेको भन्दै कडा उनले कडा रुपमा आपत्ति जनाए । उनले भने, ‘गाईलाई ढुंगा प्रहार गरी हत्या गरिएको छ, तर, सम्बन्धित निकायहरू कानमा तेल हालेर बसेका छन । कानुन त छ, तर कार्यान्वयन नगर्ने प्रवृत्तिले यस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन ।’
अहिले घटनाले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा व्यापक चर्चा पाएको छ । पशु अधिकारकर्मीहरूले समेत घटनाको निन्दा गर्दै सरकारलाई त्वरित कारबाहीका लागि दबाब दिएका छन ।
के होे घटना ?
घटना बाजुराको जगनाथ गाउँपालिका – ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको हो । जिउँदै गाइलाई ठूलो नदिमा जवरजस्र्ती धकेलेको देखिन्छ , उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा कर्णाली नदीको किनारमा गाईलाई बल प्रयोग गरेर नदीमा बगाइएको देखिन्छ । गाई नदीमा बगाउँदा फर्किन खोज्दा स्थानीयले ढुंगा हानेर नदितिरनै फर्काइरहेको देखिन्छ । गाई दुई पटक फिर्ता नदी किनारामा आउन खोजेपछि स्थानीयले गाईलाई ढुंगा हानेर लखेटेको भिडियोमा देख्न सकिन्छ ।
शनिवार स्थानीय पत्रकार धनबहादुर बीसीले यो भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अहिले उक्त भिडियो भाइरल भएको छ । उनका अनुसार स्थानीय साउने सार्र्की नामक व्यक्तिको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी गएका व्यक्तिले गाईलाई नदीमा बगाएका थिए । परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कुकृत्य हुँदै आएको उनले बताए ।
गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने चलन पहिलेबाटै रहेको जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाही बताउँछन् । उनी भन्छन्, ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ, पछिल्लो घटनाबारे जानकारी नभए पनि यो परम्परा भने उहिलेदेखि चलेको बताए । उनले भने, ‘बिचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन ।’