काठमाडौँ । दैलेख जिल्लास्थित गुराँस गाउँपालिकामा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको छ। नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित आयोजित यस महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्ने विविध गतिविधिहरू सञ्चालन गर्यो ।
महोत्सवले कर्णाली क्षेत्रमा पर्यटन विकास र चलचित्रसम्बन्धी गतिविधिहरू विस्तार गर्ने विशेष पहल लिएको छ। प्रमुख अतिथिका रूपमा उपस्थित कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस क्षेत्रको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यलाई चलचित्र छायाङ्कन स्थलका रूपमा विकास गर्ने सम्भावनाबारे जोड दिए ।
विशेष अतिथिहरूमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चर्चित अभिनेता प्रदीप खड्का, फिल्म ‘प्रकाश’ तथा ‘पुजार सार्की’ का लेखक, र कर्णालीमै छायाङ्कन हुने नयाँ चलचित्र ‘२६ करोड’ का निर्देशक विकास सुवेदी रहेका थिए। यसका साथै पालिका अध्यक्ष टोप बहादुर बिसी, साहित्यकार डा. महेन्द्र कुमार मल्ल, र अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
चलचित्र पर्यटनको महत्त्वबारे गहन छलफल गर्दै अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रलाई फिल्म पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कर्णालीलाई चलचित्रमार्फत विश्वव्यापी रूपमा चिनाउन ‘सद्भावना दूत’ को रूपमा भूमिका निर्वाह गर्ने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र प्रवर्द्धन गर्न ठोस कदम चाल्नु आवश्यक रहेको औंल्याए । उनले महोत्सवले चलचित्र पर्यटनको सम्भावना उजागर गर्दै यस क्षेत्रमा लगानी भित्र्याउने विश्वास व्यक्त गरे। साथै, चलचित्र विकास बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कृषि प्रवर्द्धनसम्बन्धी संवाद कार्यक्रम
चलचित्र पर्यटनसँगै कृषि प्रवर्द्धनलाई पनि महोत्सवको एक महत्त्वपूर्ण अंग बनाइएको थियो। मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी प्रमुख भरत ढकाल, मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण कुमार श्रेष्ठ, स्थानीय कृषकहरू, तथा सरोकारवालाबीच स्थानीय सरकारको भूमिका, संघीय सरकारको योगदान, र कृषि क्षेत्रमा सहकार्य तथा लगानीबारे छलफल भएको थियो।
छलफलका क्रममा मुक्तिनाथ ग्रुप कम्पनीले कृषि क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले चलचित्र तथा कृषि प्रवर्द्धनका लागि पालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
गुराँसलाई चलचित्र पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए । महोत्सवअन्तर्गत आगामी चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ । साथै, चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना गरिनेछ।
जलवायु परिवर्तनजस्तो गम्भीर विषयलाई कर्णालीको सन्दर्भमा महोत्सवले उठान गरेको छ। चलचित्र क्षेत्रमार्फत जलवायु संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य महोत्सवले लिएको छ, जसले कर्णालीको पर्यटन, कृषि, र चलचित्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।