काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ तथा चामुण्डाबिन्द्रासैनी गाउँपालिका वडा नं- २ जोड्ने स्याउले–गडाज्युला झोलुंगे पुलको सिलान्यास गरिएको छ।
स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवागमनको कठिनाइलाई समाधान गर्न निर्माण हुन लागेको उक्त पुलले दुवै गाउँपालिकाका नागरिकलाई ठुलो सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
भैरवी खोलामा पुल नहुँदा स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य थिए । दैनिक आवागमन, विद्यार्थीहरूको विद्यालय जान कठिनाइ तथा बिरामीहरूलाई अस्पताल पुर्याउन समस्या हुँदै आएको थियो । समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, दैलेखमार्फत पुल निर्माणको कार्य अघि बढाइएको हो।
पुलको संयुक्त रूपमा सिलान्यास भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाही तथा उपाध्यक्ष देवी भण्डारीले गर्नुभएको छ। सिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
५५ लाखको लागत, ९२ मिटर लम्बाइ
सिलान्यास गरिएको पुल ९२ मिटर लम्बाइ रहने उक्त झोलुंगे पुल करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिनेछ । निर्माण कार्यलाई प्रभावकारी बनाउन करिब १ लाख भन्दा बढी जनश्रमदानको योजना बनाइएको छ। इन्जिनियर काली बहादुर सुनारका अनुसार आवश्यक सामग्री खरिद प्रक्रिया सम्पन्न भइसकेको छ र आगामी असार मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
पुलको सिलान्यास कार्यक्रममा बोल्दै भैरवी गाउँपालिकाकी अध्यक्ष रिता कुमारी शाहीले यो पुल निर्माणले स्थानीयको वर्षौंदेखिको चाहना पूरा हुने बताइन् । उनले चामुण्डाबिन्द्रासैनी गाउँपालिकाको सिरौल बस्ती र भैरवी गाउँपालिकाको स्याउले क्षेत्रका नागरिकहरूको जीवन सुरक्षित हुनेमा विश्वास व्यक्त गरिन् । साथै, पुलको निर्माण कार्यलाई गुणस्तरीय बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
स्थानीय बासिन्दाहरूले पनि पुल निर्माणले यातायात सहज हुने, सामाजिक तथा आर्थिक गतिविधिमा सुधार आउने तथा आपतकालीन समयमा आवतजावत सरल हुने विश्वास व्यक्त गरेका छन्।