काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा विकमिङ वेब सेरिज सम्वन्धि स्क्रीनीङ क्याम्प संचालन गरिएको छ । सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवाको अधिकार संरक्षण तथा समावेशीता प्रवद्र्धन परियोजना अन्तर्गत विकमिङ वेब सिरिज सम्बन्धी स्क्रीनीङ क्याम्प वीरेन्द्रनगर नगरपालिका अन्तर्गत दुई विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रभात माध्यमिक विद्यालय, वीरेन्द्रनगर – २ कोलडाँडा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, विरेन्द्रनगर ६ मा संचालन गरिएको थियो । कार्यक्रममा ८२ जनाको सहभागिता रहेको थियो, जसमा २९ बालबालिका, शिक्षक, विद्यालय व्यवस्थापन समिति (एसएमसी) का अध्यक्ष र अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमले बिकमिङ वेव वेब सिरिज मार्फत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, प्रस्तुति र यौन विशेषताबारे जानकारी दिने उद्देश्य राखेको थियो । चार भागमा बनेको यो चेतनामूलक सिरिजले विद्यालय, समुदाय र परिवारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक विषयमा चेतना अभिवृद्धि गर्न र सामाजिक स्वीकृति बढाउन सहयोग गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका – ५ र गुराँस गाउँपालिकाका ८ वडामा संचालनमा रहेको र अघिल्ला वर्षमा पनि यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम पश्चात् दैलेखको गुराँस गाउँपालिका र वीरेन्द्रनगरमा गरि ७ जना बालबालिका र कर्णाली प्रदेशको सुर्खेतमा करिव २० जना खुलेर रहेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी तथा ट्रान्सजेण्डर महिला अञ्जली वि.सी. बताउँछन् ।
यस कार्यक्रम संचालन भएपछि विद्यालय, समुदाय र परिवारमा ज्ञान वृद्धि भई सामाजिक स्वीकृती बढेको छ र बालबालिका स्क्रीनीङ हुनमा सहयोग पुगेको छ कार्यक्रममा सहभागी एक शिक्षकले भने, ‘पहिले एकजना बालक जहिले केटीको लाईनमा बस्न रुचाउँथे, उनको व्यवहार केटी जस्तै थियो । उनी केटीको लाइनमा बस्दा म उसलाई हप्काएर केटाको लाईनमा बस्न जर्बजस्ती गर्थे, अहिले आएर महशुस भएको छ मैले गलत गरेको रहेछु । अहिले उनी आफु लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिचान सहित खुलेर आएको सुनेको छु । यो ज्ञान मैलै पाएको भए त्यस्तो व्यवहार गर्दैन थिएँ होला ।’
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वीरेन्द्रनगर – ६ का प्रधानाध्यापक गणेश कुमार न्यौपानेले कार्यक्रम महत्वपूर्ण भएको बताए । यस कार्यक्रम लागू भएपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नयाँ ज्ञान प्राप्त गर्न सकेका छौं,’उनले भने, ‘पहिले तेस्रोलिङ्गीलाई मात्र चिनिने र समाजले घृणाको दृष्टिले हेर्ने गरेकोमा अहिले आएर बुझ्दा हाम्रा विद्यालयमा यसका सबै विशेषता र व्यवहार भएका बालबालिका पनि हुन सक्छन् भन्ने महसुस भएको छ ।’
यस्तो विषयलाई सबै कक्षामा समावेश गरी ज्ञान प्रदान गर्न अत्यावश्यक ठानेको उनले बताए । उनी भन्छन्, ‘विद्यालय सुधार योजनामा यसलाई समावेश गर्दै बाल क्लबहरूमार्फत चेतनामूलक कार्यक्रम सञ्चालन गरेर उनीहरूका लागि सहज वातावरण निर्माण गर्ने पहल गरिनेछ ।’
त्यस्तैै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर – २ का अध्यक्ष गज बहादुर बुढाले कार्यक्रमको प्रभावकारिताको चर्चा गर्दै भने, ‘सरकारमा प्रतिनिधित्व गर्ने र कानुन निर्माण गर्ने जिम्मेवारी भएका व्यक्तिहरूले पनि अझैसम्म यो विषयलाई पर्याप्त बुझ्न नसकेको अवस्था छ । पहिले यस्ता कार्यक्रममा सहभागी हुन नसकेपनि तर, यसपटक पूरै कार्यक्रममा सहभागी भई मैले यस विषयमा थप ज्ञान हासिल गरेको छु । अब स्थानीय सरकारका ऐन, कानुन, कार्यक्रम र बजेटमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई समावेश गर्नका लागि सक्रिय आवाज उठाउनेछु ।’
प्रभात माध्यामिक विद्यालय वीरेन्द्रनगर – २ कोलडाँडाका प्रधानाध्यापक गंगीसरा सारुले आफ्नो विद्यालयमा विभिन्न जातजाति, वर्ग र लैङ्गिकताका बालबालिका हुन सक्छन् भन्ने यथार्थलाई हामीले स्वीकार गर्नुपर्ने बताए ।
सहभागी शिक्षकहरूले यस विषयमा सम्पूर्ण कक्षामा जानकारी दिनुपर्छ,’उनले भने, ‘तर, यति मात्र पर्याप्त हुँदैन । समुदायसम्म पुगेर संस्थाले पनि जानकारी गराउनुपर्छ। समुदायमा ज्ञानको अभाव हुँदा भेदभाव अझै देखिन्छ । यस विषयमा चेतना अभिवृद्धिका लागि हामी सबै प्रतिबद्ध छौं ।’
बालबालिकाहरूले यस्तो स्वभाव भएका साथीहरूलाई जिस्काउने, भेदभाव गर्ने वा लाञ्छना लगाउने कार्य गर्न नहुने र सबैका लैङ्गिक पहिचान र यौन विशेषतालाई सम्मानपूर्वक स्वीकार गर्नुपर्ने उहाँको भनाई थियो ।
विरेन्द्रनगरमा सम्पन्न प्रधानाध्यापकहरूको बैठकका अवसरमा सामुदायिक विद्यालयका ५९ जना प्रधानाध्यापक, नगरपालिकाका अधिकारीहरू र साझेदार संस्थाका प्रतिनिधिहरूसहित जम्मा ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा ट्रान्सजेण्डर महिला अञ्जली वि.सी.ले आफ्नो जीवनका भोगाइ र चुनौतीबारे आफ्ना अनुभवहरू साझा गरेकी थिइन् । मेरो भोगाइले सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दछ,’अञ्जलीले भनिन, ‘अझै पनि समाजमा धेरै चुनौती र भेदभावको सामना गर्नुपरेको छ, तर यस्ता कार्यक्रमले चेतना फैलाउन मद्दत गर्दछ ।’
बैठकमा उपस्थित प्रधानाध्यापकहरूले कार्यक्रमले आफूहरूलाई नयाँ दृष्टिकोण प्रदान गरेको बताउँदै विद्यालय र समुदायमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको लागि सुरक्षित वातावरण निर्माण गर्न सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विरेन्द्रनगर नगरपालिकाका उपसचिव तथा शिक्षा प्रमुख धिरेन्द्र शर्माले कार्यक्रममा बोल्दै भने, ‘विद्यालयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी विषय पढाइनु अत्यावश्यक छ । त्यसैले वीरेन्द्रनगरको स्थानीय पाठ्यपुस्तकमा यसलाई समावेश गर्ने प्रक्रिया अघि बढाउनेछौं । साथै, सरकारी कार्यक्रमहरूमा पनि यस विषयको समावेशीकरणलाई प्राथमिकता दिइनेछ ।’
त्यस्तै गुराँस गाउँपालिकामा २९ जना आधारभूत तहका शिक्षकहरूका लागि आयोजित पाँचदिने तालिमले शिक्षकहरूलाई लैङ्गिक पहिचान र यौन अभिमुखीकरणका बारेमा विस्तृत जानकारी प्रदान गरेको छ । तालिममा सहभागी शिक्षकहरूले सरकारका कार्यक्रम र बजेटमा यस्ता विषयहरूलाई समावेश गर्न आवश्यक रहेको कुरा औँल्याएका थिए ।
बालक्लबका पदाधिकारी तथा सदस्यहरूले पनि यस विषयलाई प्रभावकारी बनाउन विद्यालयस्तरमै विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना राखेका राखेका छन् । उनीहरूले विद्यालयमा सबै बालबालिकाका लागि सुरक्षित वातावरण तयार गर्न आवश्यक पहल गर्न शिक्षक, अभिभावक, र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।