काठमाडौं । ललितपुर महानगरपालिकाले सडक सुरक्षा र ट्राफिक नियम पालनामा जनचेतना फैलाउने उद्देश्यले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ।
आइतबार एक विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो। कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक नियम पालनामा नागरिकहरूको सक्रियता बढाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
“सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न र सुरक्षित यातायात प्रवर्द्धन गर्न यो कार्यक्रमले दीर्घकालीन प्रभाव पार्नेछ,” महर्जनले भने । उनका अनुसार ट्राफिक नियमहरूको पालनालाई प्रोत्साहन गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न महानगरले विभिन्न कार्यक्रममार्फत जनचेतना अभियानलाई निरन्तरता दिनेछ।
कार्यक्रममा सहभागी ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूले नागरिकको सहभागिता र सचेतनाले मात्र सडक सुरक्षामा सुधार हुनेमा जोड दिए । साथै, साप्ताहिक रुपमा हुने यस कार्यक्रमअन्तर्गत विद्यालय, संघसंस्था, व्यवसायी, र सार्वजनिक यातायातका चालकहरूसँग समन्वय गरी ट्राफिक नियमका विषयमा तालिम र छलफल गर्ने योजना रहेको जानकारी गराइयो ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ललितपुर महानगरपालिकाले यो अभियानलाई सशक्त बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।
साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक गतिविधि, जस्तै सडक सुरक्षासम्बन्धी प्रशिक्षण, ट्राफिक नियम पालना नबुझ्नेहरूलाई शिक्षा, र ट्राफिक संकेत चिह्नहरूको महत्वबारे जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ।