काडमाडौँ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अन्वेषणबाट सङ्कलित नमूना परीक्षणका लागि चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ।
गत वैशाख २३ गते सुरु भएको ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइसम्म सम्पन्न गरियो। खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार, ड्रिलिङका क्रममा प्रत्येक दुई मिटरको फरकमा बालुवा र गिट्टीका नमूना सङ्कलन गरियो । ती नमूनालाई थप अध्ययनका लागि सोर्स रक, रिजर्भ वायर रक, र सिल रकमा वर्गीकृत गरी चीन पठाइएको छ ।
ड्रिलिङ कार्यपछि केसिङ र सिमेन्टको काम समेत पूरा भएको भूगर्भविद् लुइँटेलले जानकारी दिए । चीनबाट आएका ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना अझै जलजलेमा कार्यरत छन्, भने बाँकी सबै आफ्नो देश फर्किसकेका छन्। आगामी तीन महिनाभित्र ग्यास भण्डारण र प्रशोधनको काम सुरु गरिने योजना छ।
चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक स्थलगत अध्ययनमार्फत दैलेखमा पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावना पत्ता लगाएको थियो । त्यसपछि सम्भावित स्थानमा रिङ हाउस निर्माण गरी ड्रिलिङ कार्य सुरु गरिएको हो। अन्वेषणपछि खानीको आर्थिक विश्लेषण गरी उत्पादनको प्रक्रिया अगाडि बढाइने छ।
नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा चिनियाँ सरकारसँग पेट्रोलियम पदार्थको अनुसन्धान सम्पन्न गर्ने सम्झौता गरेको थियो । तीन वर्षभित्र तीन चरणमा काम सम्पन्न गर्ने योजना भए पनि कोभिड–१९ महामारीका कारण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको थियो। यो परियोजना चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा सम्पन्न हुँदैछ।
पेट्रोलियम पदार्थको सम्भावना पुष्टि भएमा यो अन्वेषण नेपाललाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ।