काठमाडौँ । दैलेखको ठाँटीकाँध गाउँपालिका जनविरोधी निर्णयतर्फ उन्मुख भएको भन्दै नेकपा एमाले ठाटीकाँधले बिरोध जनाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ठाँटीकाँध गाउँपालिकाले पछिल्लो समय विभिन्न पेशामा कार्यरत कर्मचारीहरूलाई अन्यायपूर्ण व्यवहार गर्दै आएको आरोप नेकपा एमालेले लगाएको छ ।
एमाले ठाँटीकाँध गाउँपालिका गाउँकमिटीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँ कार्यपालिकाको पुस १८ गते बसेको बैठकले विद्यालयमा कार्यरत कर्मचारीहरू, बाल विकास सहजकर्ता, र कार्यालय सहयोगीहरूको सेवा सुविधामा कटौती गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
नेकपा एमालेका ठाटीकाँध गाउँकमिटी अध्यक्ष कृपाराम थापाद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकारको निर्णयले संविधान, स्थानीय सरकार सञ्चालन ऐन, श्रम ऐन, तथा आर्थिक ऐन र नियमावलीको उल्लंघन गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षको मध्यभागमा सेवा सुविधा कटौती गर्ने निर्णयले पेशाकर्मीहरूको हक अधिकारमाथि निर्मम प्रहार भएको छ । यो निर्णय गैरजिम्मेवार र अपरिपक्व छ ।’
एमालेले ठाँटीकाँध गाउँपालिकाले गरेको यो निर्णयलाई जनविरोधी, स्वेच्छाचारी र अपारदर्शी भन्दै खबरदारी गरेको छ ।
नेकपा एमालेले ठाँटीकाँध सरकारमाथि शिक्षा र स्वास्थ्य क्षेत्रमा बारम्बार हस्तक्षेप गरी कर्मचारी र पेशाकर्मीहरूलाई मानसिक तनाव दिने काम गरेको ठाटीकाँध गाउँकमिटी अध्यक्ष कृपाराम थापा बताउँछन् । ‘स्थानीय सरकारको यस किसिमको गैर जिम्मेवार र मनोवैज्ञानिक आतंक सिर्जना गर्ने व्यवहारले सरकारका संचालकहरूको चरित्र उजागर गरेको छ,’ थापाले भने ।
एमालेले स्थानीय सरकारले कर्मचारीमाथि गरेको ज्यादती नसच्याए थप संघर्षका कार्यक्रम घोषणा गर्ने थापाले चेतावनी दिए । ‘पेशाकर्मीमाथिको दमन र सेवा सुविधामा गरिएको कटौती तुरुन्त सच्याउन आग्रह गर्दछौं,’उनले भने, ‘अन्यथा, पार्टीको सम्पूर्ण संरचना र आम नागरिकलाई संघर्षका कार्यक्रममा सहभागी गराउन बाध्य हुनेछौं ।’
ठाटीकाँध गाउँपालिकाले संघीय सरकारसँगको साझेदारी रकम कटौती गर्दै विद्यालयमा कार्यरत कर्मचारीहरूको सुविधा खाइपाइ आएको अवस्थामा समेत हटाएको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
यता ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले पालिकाको बजेटले केही कर्मचारी र शिक्षकहरु धान नसक्ने अवस्था आएपछि त्यस्तो गर्न लागिएको बताउँछन् । पालिकाको बजेटले शिक्षक र कर्मचारी धान्ने अवस्था नरहेकाले त्यस्तो गर्न लागिएको हो,’उनले भने, ‘अब तत्काल निर्णय गर्ने होइन चैत्र पछि मात्र कर्मचारी घटाउने बढाउने निर्णय गर्छौँ ।’