काठमाडौँ । “के हाम्रो समुदायमा रक्सी सेवनकै कारण बच्चा नजन्मिएको हो ?” राउटे समुदायका एक युवा, बन्दवीर शाहीले किशोर-(किशोरी प्रजनन शिक्षामा भाग लिँदै, यस्तो प्रश्नले सबैलाई अचम्ममा पारे। यो प्रश्न मात्र एउटा जिज्ञासा थिएन, यो प्रश्नमा राउटे समुदायको अस्तित्वसँग जोडिएको गहिरो पीडा थियो ।
राउटे समुदाय, जो आफ्नो परम्परा, घुमन्ते जीवनशैली र प्रकृतिसँगको निकट सम्बन्धका लागि प्रख्यात छ, तर, आज यो समुदाये एक गम्भीर चुनौतीको सामना गरिरहेको छ। यस समुदायमा अधिकांश प्रजनन उमेरका जोडीहरू भए पनि महिलाहरू गर्भवती हुन नसक्ने समस्या निकै सामान्य भएको छ। यसको परिणामस्वरूप, समुदायको जन्मदर घट्दै गएको छ।
राउटे समुदायमा एकातिर मृत्युदर बढिरहेको छ भने अर्कोतिर उनीहरुको जनसंख्या घट्दै गएको छ । केही समयअघि मात्र सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –२, गिरीघाटमा बसाइ सरेको यो समुदायको कुल जनसंख्या अहिले १३४ मा सीमित छ। यो संख्यालाई जोगाउन समुदायको सबैभन्दा ठूलो चिन्ता यसको प्रजनन क्षमतामाथि परेको संकट हो ।
तर, के यो सबैको जड साँच्चै रक्सी सेवन हो त ? यो गम्भिर प्रश्न हो । राउटे समुदायको जीवनशैली, परम्परागत आहार, स्वास्थ्य सेवा पहुँच र अन्य कारणहरूलाई समेत हेर्न जरुरी छ। समुदायका किशोर किशोरी प्रजनन् शिक्षामा भाग लिँदै–आफ्नो समुदायप्रतिको चासोले राउटे युवाहरू अब आवाज उठाउन थालेका छन्। उनीहरूले आफ्ना समस्या बुझ्न र समाधान खोज्न चाहेको देखिन्छ ।
राउटे समुदायमा कार्यरत स्वास्थ्यकर्मी पनि राउटे समुदायको जनसंख्या घट्नुको कारण अस्वस्थ खानपान र मदिरा भएको बताउँछन् । राउटे समुदायमा सन्तान जन्मदर घट्नुको पछाडि प्रमुख कारण भनेको परम्परागत सोच, अत्याधिक मदिरा सेवन, र अस्वस्थ खानपान रहेको राउटे समुदायमा कार्यरत अहेव अनुजा पन्त बताउँछिन् । ‘प्रजनन उमेरका दम्पतीहरूले समेत सन्तान जन्माउन नसक्नु गम्भीर विषय हो,’ राउटे समुदायमा लामो समयदेखि कार्यरत अहेव अनुजा पन्त भन्छिन्, ‘मदिरा सेवन र खानपानमा लापरबाहीले प्रजनन् क्षमतामा नकारात्मक असर परेको देखिन्छ ।’
परम्परागत सोच र मदिरा सेवनका कारण उनीहरुको प्रजनन् क्षमतामा समस्या भएका कारण प्रजजन् दर घट्दै गएको हुनसक्ने लामो समय देखि राउटे समुदायमा कार्यरत स्वास्थ्यकर्मीको भनाई छ । विषेशतः खानपिनमा लापवाही, मदिरा सेवनले उनीहरुको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।
प्रजनन् स्वास्थ्य वृद्धि गर्न समुदायमा प्रजजन् शिक्षा
राउटे समुदायमा प्रजजन् दर घट्नुका पछाडी समुदायको परम्परागत सोच र मदिरा सेवनकै कारण भएको सरोकारवालाको दाबी छ ।
राउटे समुदायको प्रजनन् स्वास्थ्य वृद्धि गर्न र सुधारका लागि समुदायमा प्रजनन् शिक्षा दिन थालिएको छ । एइआईएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजना मार्फत समुदायमा प्रजनन्स्वास्थ्यबारे प्रजजन् शिक्षा लिन थालिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।
केही वर्ष यता राउटे समुदायमा प्रजजन् दर घटेको अवस्था छ,’यसै विषयमा राउटे समुदायलाई सुसुचित गर्न र प्रजनन शिक्षाका बारेमा जानकारी गराउन प्रजजन शिक्षा दिन थालिएको हो ।’
राउटे समुदायमा प्रजजन् दर वृद्धि गर्नका लागि दुइतीनवटा कुरा कडाईका साथ गर्नुपर्ने थापा बताउँछन् । ‘पहिलो कुरा समुदायमा कडाइका साथ मदिरा सेवन रोक्न विशेष अभियान सञ्चालन, प्रजनन स्वास्थ्यबारे शिक्षा र परामर्शलाई निरन्तरता दिन आवश्यक र तेस्रो खानपानमा ध्यान दिँदै पोषणयुक्त आहारको व्यवस्था गर्दै परम्परागत सोचमा परिवर्तन ल्याउन सामुदायिक छलफल र प्रशिक्षण सञ्चालन गरिनुपर्छ,’ थापाले भने ।
राउटे समुदायमा सन्तान जन्मदर घट्नुको पछाडि प्रमुख कारण मध्य बालविवाह भएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीको भनाई छ । राउटे समुदायमा जन्मदर घट्नुको कारण मध्य एक बालविवाह हो,’उनले भने, ‘परिपक्व उमेर नहुँदै बालविवाह गर्ने चलन र अर्को मदिरा सेवन र खानपानको लापवाही प्रमुख कारण हुन् ।’
राउटे समुदायमा मदिरा सेवन रोक्न स्थानीय तह र स्थानीय प्रहरी प्रशासनले विशेष प्रयास गरिरहेका छन । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीका अनुसार, राउटे समुदाय बसोबास गर्ने क्षेत्रमा मदिरा बिक्री र वितरणमा रोक लगाउन पालिका र प्रहरी प्रशासनले स्थानीय व्यवसायीहरूलाई सचेत गराउने काम गरिरहेका छन ।
‘राउटे समुदायलाई मदिरा बिक्री नगर्न व्यवसायीलाई बारम्बार अनुरोध गरेका छौँ ।
'यदि अनुरोधको अवज्ञा गर्दै कसैले मदिरा बेचेको पाइएमा कानुन अनुसार कारबाही गर्ने गरेका छौँ,’अध्यक्ष बिसीले बताए ।
स्थानीय पालिका र प्रहरीको सहकार्यमा मदिरा नियन्त्रणका प्रयास गरिए पनि राउटे समुदायमा यसको सेवन पूर्णतः रोक्न सकिएको छैन । अध्यक्ष बिसीले भने, ‘पहिलेको तुलनामा अहिले मदिरा सेवनमा कमी आए पनि समुदायले लुकिछिपी सेवन गर्न छाडेका छैनन ।’
मदिरा सेवनका कारण स्वास्थ्यमा गम्भीर असर परेको छ, साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक प्रभाव पारेको छ,’अध्यक्ष बिसीले भने, ‘हामीले बारम्बार प्रहरी परिचालन गरेर मदिरा नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ ।’
जन्मदर भन्दा मृत्युदर बढ्दो
राउटे समुदायमा जन्मदरभन्दा मृत्युदर बढ्दो छ । २०७५ असारदेखि हालसम्म समुदायमा ५४ जनाको मृत्यु भएको छ भने २०७६÷७७ यता विभिन्न वर्षमा जन्मदर भन्दा मृत्युदर बढ्दो अवस्थामा रहेको छ ।
राउटे परियोजनामा कार्यरत लाल बहादुर खत्रीले दिएको जानकारी अनुसार दिएको तथ्यांक अनुसार राउटे समुदायमा २०७६÷ ७७ मा ४ जनाको जन्म भएको थियो भने १० जनाको मृत्यु भएको छ ।
त्यस्तै २०७७ ÷७८ मा ७ को जन्म ६ जनाको मृत्यु, २०७८÷ ०७९ मा जन्म शून्य, मृत्यु २ जना, २०७९÷ ८० मा ४ जनाको जन्म ८ जनाको मृत्यु, २०८० ÷०८१ मा ६ जनाको जन्म भएको थियो भने १४ जनाको मृत्यु भएको खत्री बताउँछन् ।
सोचमा परिवर्तन आवश्यक
राउटे समुदायमा भगवानले सन्तान दिन्छन् वा लिन्छन् भन्ने विश्वास रहिआएको छ । तर, प्रजनन शिक्षाले स्वास्थ्य प्रतिको लापरबाहीका कारण समस्या भएको समुदायले स्वीकार्ने अवस्था ल्याएको छ ।
राउटे समुदायका २५ वर्षका दिपक शाही भन्छन्, ‘हाम्रो समुदायमो प्रजनन् दर घट्नुमा हाम्रै लापवाहीको भएको आफूले पहिलेनै संका गरेको थिए । तर, अहिले समुदायमा संचालन गरिएको किशोरी शिक्षाबाट हाम्रा आँखा खुले । प्रजजन दर हाम्रै लापवाहीका कारण घटेको रहेछ ।’
राउटे समुदायकी गमला शाहीले यस्तै प्रजजनदर शिक्षा सम्बन्धी समुदायमा नियममित छलफल गर्न माग गरिन् ।
हाम्रो समुदायको महिला पुरुषलाई नियमित रुपमा किशोर किशोरी प्रजजन् शिक्षालाई निरन्तरता दिन आवश्यक छ,’गमला भन्छिन्, ‘हाम्रा समुदायले रक्सि खाए पनि बच्चा जन्मिने औषधी ल्याइदिनुस । जन्मदर बढे अनि हाम्रो जनता धेरै हुन्छ ।’