काठमाडौँ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गास्थित बराहटाकुरामा क्रिकेट प्राक्टिस नेट निर्माण गरिएको छ। जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको पहलमा निर्माण गरिएको यो नेटले जिल्लामा नयाँ क्रिकेट खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
संघका अध्यक्ष दीपक बाँठाका अनुसार, प्राक्टिस नेट निर्माणका लागि झण्डै २ लाख रुपैयाँ खर्च भएको छ। निर्माण कार्य संघको आन्तरिक स्रोत तथा विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगमा सम्पन्न भएको हो । उनले प्राक्टिस नेट निर्माण गर्न मुसिकोट नगरपालिकाले जमिन सम्याउन सहयोग पुर्याएको, यती विल्डर्सले बालुवा र गिट्टी उपलब्ध गराएको, कालिका हार्डवेयरले फलामका पाइप दिएको तथा अन्य व्यक्तिहरूले सिमेन्ट सहयोग गरेको जानकारी दिए। बाँकी खर्च संघकै स्रोतबाट व्यहोरिएको छ।
बराहटाकुरामा रहेको कवर्ड हलको छेउमा निर्माण गरिएको प्राक्टिस नेटका लागि जमिन ढलान गरी क्रिकेट पिच तयार पारिएको छ। वरिपरि फलामका पोल गाडेर मजबुत जाली लगाइएको छ। निर्माणसँगै क्रिकेट अभ्यास सुरु भइसकेको छ भने केही स्थानमा जाली राख्न बाँकी रहेको कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य तथा लेभल वान प्रशिक्षक कुलप्रसाद ओलीले बताए।
प्राक्टिस नेटको औपचारिक उद्घाटन गर्न बाँकी रहे पनि यसको प्रयोगले खेलाडी उत्पादन र प्रशिक्षणमा सहजता आएको छ। जिल्लामा पर्याप्त खेलकुद मैदानको अभावका कारण क्रिकेट खेल्न समस्या भइरहेको अवस्थामा प्राक्टिस नेट निर्माणले ठूलो राहत पुर्याएको छ।
यसैबीच, मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सीमा क्षेत्र ट्याखोलामा आधुनिक क्रिकेट मैदान निर्माण गर्न कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यो परियोजना कार्यान्वयनको चरणमा रहेको र आगामी दिनमा थप संरचनागत विकास हुने अपेक्षा गरिएको छ।
क्रिकेट प्राक्टिस नेटले जिल्लाका युवाहरूलाई खेलकुदमा लाग्न प्रेरित गर्ने र स्थानीयस्तरमै उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास गरिएको छ।