काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो परम्परागत योगदानलाई निरन्तरता दिँदै अतिरिक्त क्रियाकलाप सप्ताहको शुभारम्भ गरेको छ।
विद्यार्थीहरूको सर्वांगीण विकासलाई ध्यानमा राखी आयोजना गरिएको यो सप्ताहव्यापी कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख खड्काले विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि क्याम्पसले नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रम अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरीजवाफ, टेबल टेनिस, म्युजिकल चेयर, नृत्य, स्ट्यान्ड(अप कमेडी र दौडजस्ता विविध प्रतियोगिताहरू सञ्चालन भइरहेको छ।
डोरी तान्ने प्रतियोगितामा छात्रा समूहतर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले प्रथम स्थान हासिल गरेको छ। यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना राई, सुवना खड्का र जानकी कठायतको समूहले दोस्रो स्थान प्राप्त गरेको छ।
त्यस्तै, छात्र समूहतर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ भने मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह दोस्रो भएको छ।
लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोस्रो र सुजल सुनुवार तेस्रो भएका छन्।
म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन्। छात्रतर्फ टेक बहादुर थापा मगरले पहिलो स्थान, सुदीप श्रेष्ठले दोस्रो र सन्तोष कार्कीले तेस्रो स्थान हासिल गरेका छन्।
यो सप्ताहव्यापी कार्यक्रम पौष १६ गतेसम्म सञ्चालन हुनेछ। क्याम्पसको यो प्रयासले विद्यार्थीहरूमा शारीरिक सक्रियता, मानसिक सन्तुलन र सामाजिक एकताको भावना प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।