काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा अगरबत्ति तथा धूप बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ ।
एइआईएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजनाको आयोजनामा संचालन भएको ७ दिने अगरबत्ति र धूप बनाउने सीप विकास तालिम सम्पन्न भएको हो । बुधबार सम्पन्न उक्त तालिमले ठाटीकाँधका स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास छ ।
सहकार्य परियोजना संयोजक जीवराज रेग्मीका अनुसार, तालिममा ११ जनाले सहभागिता जनाएका थिए । सहभागीहरू ठाटीकाँध गाउँपालिका वडा नम्बर १, २ र ६ बाट सहभागिता रहेको थियो । तालिममा एकल महिला र समाजमा पछाडि परेका महिलाहरूलाई प्राथमिकताका साथ सहभागी गराइएको रेग्मीले बताए ।
सातदिने तालिममा सहभागि भएपश्चात् ठाटीकाँध गाउँपालिका १ की सावित्री विकले तालिममा धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरे । पहिले म सिर्फ अगरबत्ति पूजा गर्दा बालेको मात्र देखेकी थिएँ,’उनले भनिन्, ‘तर, यो ७ दिने तालिममा बसेपछि चमत्कार जस्तै भयो । ७ दिने तालिममा सिकेर आफैंले बनाउँदा म अचम्मित भएकी छु ।’
यस्तै, ठाटीकाँध ६ की मनसरा रोकायाले तालिममा सिकेको सीपलाई आम्दानीको स्रोत बनाउँने बताइन् । रोकायाले भनिन्, ‘मैले यहाँ सिकेका सीपलाई प्रयोग गरेर सफल उद्यमी बन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले अगरबत्ति र धूप निर्माण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाए । बडुवालले भने, ‘स्थानीय स्तरमा यस्ता सीपले रोजगारी सिर्जना गर्दै आयआर्जनमा टेवा पु¥याउँछ । हामी मेसिन जस्ता आवश्यक उपकरण उपलब्ध गराउन तयार छौं यो मेरो प्रतिबद्धता भयो ।’
स्थानीय स्तरमा उपलब्ध स्रोतको प्रयोग
तालिममा अगरबत्ति र धूप बनाउन स्थानीय स्तमा उपलब्ध स्थानीय स्रोतको प्रयोग गरिएको थियो । स्थानीय स्रोतहरुमा फूल, कोइला, काउलाको बोक्राको धूलो लगायतका स्थानीय सामग्री प्रयोग गरेर अगरबत्ति र धूप निर्माण गरिएको परियोजना संयोजक रेग्मीले जानकारी दिए ।
तालिम पश्चात् उद्यमीहरुको समूह गठन हुनेछ । समूहले उत्पादन गरेका सामाग्रिलाई बजारिकरणका लागि सोसेक नेपालको समन्वयमा स्थानीय ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्थामार्फत बजारसम्म पु¥याइने योजना रहेको संयोजक रेग्मीले बताए । ‘यो तालिमले स्थानीय उत्पादनलाई व्यवसायिक रुपमा स्थापित गर्न ठूलो मद्दत पु¥याउनेछ । हामीले उत्पादनका लागि मात्र होइन, यसको प्रभावकारी बजार व्यवस्थापनका लागि पनि काम गर्दैछौं,’ रेग्मीले भने ।