हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् ।
यहाँका जुमा र झोपाले घाँस नखाने, र्याल काढ्नेलगायत रोग देखिन थालेको स्थानीय डबल सिंहले बताए । आफ्नालगायत अन्य जुमा, झोपा पुशमा यस्तो लक्षण देखिएको उनले बताए । हालसम्म दुईवटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपा अज्ञात रोगले मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् ।
अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न पनि समस्या हुने सिंहको गुनासो छ । तिहार बिदा भए पनि सोमबार पशु अस्पताल तथा पशु सेवा कार्यालय सिमकोट पुगेर औषधि लिएर आएको उनले बताए ।
डाडाफयाँमा फैलिएको अज्ञात रोगका विषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी लिँदा पशुवस्तुमा लागेको रोग प्रष्ट पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । तिहार बिदामा पनि कार्यालयमा औषधि माग्न पुगेका किसानले भनेका आधारमा औषधि पठाएको पशु अस्पतालका निमित्त प्रमुख कृष्ण रोकायाले बताए । बिदाको समय भए पनि किसान औषधि माग्न पुगेपछि आफूले औषधि दिएर पठाएको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । गाउँमा रोग फैलिए पनि बिदाको समय भएकाले कुन रोग देखिएको हो प्रष्ट हुन नसकेको बताइएको छ ।
निमित्त कार्यालय प्रमुख रोकायाका अनुसार किसानले पशुवस्तुमा देखिएको रोगको उपचारका लागि प्राविधिक खटाइदिन आग्रह गर्न सिमकोट गाउँपालिकामा जानुपर्ने बताए । पशु कार्यालयमा त्यत्ति धेरै बजेट नहुने भएकाले पछिल्ला वर्षमा औषधि खरिदलगायत सबै बजेट पालिकामा जाने भएकाले प्राविधिक र औषधि मागका लागि किसान गाउँपालिका जानुपर्ने उनले बताए ।
पशुवस्तुमा देखिएको रोग र औषधिको अवस्थाबारे गाउँपालिका पशु शाखामा बुझ्न खोज्दा सम्पर्क हुन नसकेको हो । पालिकाभित्रका पशुवस्तुमा देखिने रोग र रोकथामका साथै पशु क्षेत्रमा सिमकोटले बजेट छुट्याए पनि यहाँका किसानले बर्सेनि पशुवस्तुमा देखिने विभिन्न रोगले पशु मर्दा नोक्सानी व्यहोर्दै आएका छन् । अहिलेसम्म औषधिसमेत गाउँपालिकाबाट नपाएको गुनासो गरेका छन् ।