ललितपुर, ०७ असार । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।
एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।
संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने।
केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।
२०७७ फागुन २३ मा सर्वोच्चले पार्टी एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।
पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अब उनीहरु नफर्किने निष्कर्षसहित रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारीमा माओवादी लागिपरेको छ ।