काठमाडौँ । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा चर्काचर्की परेको छ।
बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए। यस क्रममा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।
ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए। यसैबीच जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’
ओभल अफिसबाट जारी गरिएको भिडिओमा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ।ट्रम्प र जेलेन्स्कीबीच बहस भइरहँदा राजदूत अत्यन्तै तनावग्रस्त देखिएका छन्।
युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए। तर दुई जनाबीच चर्काचर्की परेसँगै उक्त सम्झौता अब असफल भएको छ।
दुई नेताबीचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो।
बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन्। ट्रम्पले भनेका छन्, 'बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।'
ट्रम्पले जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप पनि लगाएका छन्। उनले अगाडि भनेका छन्, ‘यदि उनी शान्ति चाहन्छन् भने उनी फेरि फर्केर यहाँ आउन सक्छन्।’