काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडले आफ्नो ३४औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । सो अवसरमा कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकारका पक्षमा कम्पनीले निरन्तर कार्य गर्दै आएको बताएका छन्।
उक्त कार्यक्रममा उनले कम्पनीको स्थापना इतिहासदेखि वर्तमान योगदानसम्म चर्चा गर्दै भने, 'यो कम्पनी स्थापनाको मूल उद्देश्य नै सीमावर्ती क्षेत्रमा पुनर्वास कार्यक्रम सञ्चालन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नु हो।'
साविकको पुनर्वास कम्पनीको रूपमा सन् २०२० मा स्थापना भएको यस संस्थाले प्रारम्भिक रूपमा नेपालका सीमावर्ती क्षेत्रहरूमा पुनर्वास कार्यक्रम सञ्चालन गरेको थियो। पुनर्वास कम्पनीले २०२० सालदेखि २०४६ सालसम्म २६ हजार ९०० परिवारलाई जग्गा वितरण गरी आवासको व्यवस्था गरेको थियो।
त्यसपछि, २०४६ सालमा ग्रामिण आवास कम्पनीका रूपमा पुनःसंरचना भएको संस्थाले पुनर्वास कम्पनीले थालेका कार्यलाई निरन्तरता दिँदै आयो । अन्ततः, २०६९ सालमा यस कम्पनीलाई राष्ट्रिय आवास कम्पनी लिमिटेड का रूपमा पुनःस्थापना गरिएको हो । हाल कम्पनीको कार्यक्षेत्र कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सर्लाही, झापा, नवलपरासी, रुपन्देही, र कपिलवस्तु जिल्ला रहेको छ।
महाप्रबन्धक निरौलाका अनुसार कम्पनीले हाल भूमिहीन तथा सुकुम्बासीहरूको हक संरक्षण गर्दै जग्गा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन कानूनी सुधारको पहल गरिरहेको छ। जो व्यक्ति वर्षौंदेखि कुनै जग्गा जोतभोग गर्दै आएका छन्, तिनलाई जग्गाको लालपुर्जा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको छ,' उनले जानकारी दिए।
कम्पनीलाई थप प्रभावकारी बनाउने उद्देश्यले कानूनी र नीतिगत सुधारलाई प्राथमिकता दिइएको उनले बताए । आगामी दिनमा कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आवास व्यवस्थापनका क्षेत्रमा नवीनतम नीति अपनाउने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले धार्मिक अनुष्ठानहरू समेत आयोजना गरेको थियो । यस क्रममा विशेष रूपमा होम(हवन, चण्डी पाठ, रुद्री पाठ जस्ता धार्मिक विधिहरू सम्पन्न गरिएको महाप्रबन्धक निरौलाले बताए ।
महाप्रबन्धक निरौलाले कम्पनीलाई थप उचाइमा पुर्याउने तथा संस्थागत उद्देश्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित अघि बढ्नेू दृढता व्यक्त गरेका छन्।