काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले २०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको राजनीतिक समीकरण २०८४ सम्म यथावत् रहने र त्यसपछि दुवै दल आ आफ्नै तरिकाले चुनाव लड्ने बताएका छन्।
भट्टराईले संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्ने तर्क गर्दै भने, '२०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउनेछ। यो हाम्रो दाबी हो ।' उनले नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण बनाउने गलत परम्परा अन्त्य गर्दै, आआफ्नो बलबुतामा चुनाव लड्ने संस्कृति विकास हुनुपर्ने विचार व्यक्त गरे।
उनका अनुसार सरकारले २९ वटा कानुन संशोधन गर्ने उद्देश्यसहित ६ वटा अध्यादेश ल्याएको छ। उनले अध्यादेशहरूमाथि कुनै शंका नगर्न आग्रह गर्दै भने, 'हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले यसलाई सकारात्मक रूपमा लिएका छन्, जसका कारण रोजगारीका अवसर सिर्जना हुनेछन् ।' भूमि सम्बन्धी अध्यादेशबारे उपेन्द्र यादवसँग छलफल भइरहेको उल्लेख गर्दै उनले यो विधेयक पनि पारित हुने विश्वास व्यक्त गरे।
सामाजिक सञ्जाल नियमनबारे उनले सरकार पहिलेदेखि नै प्रतिबद्ध रहेको बताए । उनले भने, 'हाम्रो उद्देश्य निषेध होइन, नियमन हो। फेसबुक, युट्युबजस्ता माध्यमबाट आपराधिक क्रियाकलाप भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न दर्ता अनिवार्य गर्नुपर्ने हाम्रो धारणा हो ।'
पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बन्ने सपना नदेख्न चेतावनी दिँदै भट्टराईले गणतन्त्र स्थापनाको मूल कारण शाह आफैं भएको स्मरण गराए। उनले भने, 'उहाँकै कारण राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना भएको हो। अब राजा बन्छु भन्ने कुरा उपयुक्त छैन ।' जनताले फालिसकेको राजतन्त्र फर्किन नसक्ने दाबी गर्दै उनले राजावादीहरू गणतन्त्र असफल भएको भन्दै मौका खोजिरहेको बताए।
'दरबार हत्याकाण्ड हामीले गरेको हो र ?' भन्दै भट्टराईले प्रश्न उठाए। उनले दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उल्लेख गर्दै अब त्यो संस्था फर्केर देश सञ्चालन गर्ने कुनै सम्भावना नरहेको बताए।