सर्लाही (हरिवन) । सर्लाहीको हरिवनस्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार आफ्ना मृतक शेयर सदस्यका परिवारलाई बिमा रकम प्रदान गरेको छ। सहकारीका शेयर सदस्य बागमती नगरपालिका –४ निवासी ३८ वर्षीय मानबहादुर प्रधानको सडक दुर्घटनामा निधन भएपछि सदस्य दुर्घटना बिमा बापतको एक लाख रुपैयाँ मृतककी पत्नी भिष्मा प्रधानलाई हस्तान्तरण गरिएको हो।
संस्थाका उपाध्यक्ष कृष्णओम पोतेले चेक हस्तान्तरण गर्दै दुःखको समयमा शेयर सदस्यका परिवारलाई केही राहत प्रदान गर्ने उद्देश्यले संस्थाले दुर्घटना बिमा योजना ल्याएको जानकारी दिए। उनका अनुसार ५० कित्ता अर्थात् ५ हजार रुपैयाँभन्दा बढी शेयर भएका सदस्यहरूको दुर्घटना बिमा गरिने व्यवस्था गरिएको छ।
गत भदौ ९ गते बिरगंजबाट सर्लाहीस्थित आफ्नो घरतर्फ फर्किंदै गर्दा प्रधानको मोटरसाइकललाई बारामा विपरीत दिशाबाट आएको कारले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा गम्भीर घाइते भएका प्रधानको उपचारका क्रममा निधन भएको थियो।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालय, वृद्धाश्रम, मानवसेवा आश्रम तथा धर्मशालामा आश्रय लिएका व्यक्तिहरूलाई आवश्यक खाद्यान्न तथा सामग्री सहयोग उपलब्ध गराउने जनाएको छ। यसअघि, स्थानिय एक क्याम्पस र एक विद्यालयलाई पनि आर्थिक सहयोग गरिसकिएको उपाध्यक्ष पोतेले जानकारी दिए।
संस्थाले बचत तथा ऋण सेवासँगै शैक्षिक तथा आर्थिक उन्नयनमा समेत योगदान दिँदै आएको छ। गुणस्तरीय शिक्षाका लागि हरिवन नगरपालिका–१, भोक्टिनीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी कक्षा ६ सम्म अध्यापन गराउँदै आएको छ। एक बिगाहा ५ धुर क्षेत्रफलमा फैलिएको विद्यालय १५ कोठे पक्की भवनबाट सञ्चालन भइरहेको छ।
सहकारीले सहुलियत दरमा एलपी ग्यास तथा रासायनिक मलखाद विक्री–वितरण गर्दै आएको छ। संस्थाले सर्लाही जिल्लाभरि सेवा प्रदान गरिरहेको र विशेषगरी दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी आफ्ना सेवा विस्तार गरिरहेको जनाएको छ।