अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।
गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएका हुन् ।
ट्रम्पले शपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार ट्रम्पको शपथ समारोहमा उपराष्ट्रपति झेङ सीको ‘विशेष प्रतिनिधि’का रूपमा सहभागी हुने जनाएको छ । ‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढाउने कार्यमा सहकार्य र समन्वयको सिद्धान्तलाई अनुसरण गर्दछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘हामी नयाँ अमेरिकी सरकारसँग वार्ता र संवाद बढाउन र मतभेदको उचित व्यवस्थापन गर्न काम गर्न तयार छौं’, विज्ञप्तिमा उल्लेख छ । बेइजिङले ‘स्थिर, स्वस्थ र दिगो चीन(अमेरिका सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन र दुई देशलाई एक(अर्कासँग घुलमिल हुन सही बाटो खोज्न’ इच्छुक रहेको बताएको छ ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पको चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । खासगरी उनले चिनियाँ सामानमा अतिरिक्त करको घोषणा गरेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट आयात हुने धेरै सामानमा करको दायरामा अत्यधिक वृद्धि भएको थियो ।
उनले बेइजिङले अनुचित व्यापार अभ्यास गरेको र संयुक्त राज्य अमेरिकामा विनाशकारी फेन्टानिल सङ्कटमा भूमिका खेलेको आरोप लगाउँदै यस पटक थप कडा उपायहरू लागू गर्ने चेतावनी दिएका छन् । -राससरएएफपी