काठमाडौँ । सल्यानमा यो आर्थिक वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र रासायनिक मलको सहज आपूर्तिले यस वर्ष उत्पादन र उत्पादकत्व दुबैमा सुधार आएको हो ।
कृषि विकास कार्यालय, सल्यानका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा ६ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको छ। यो तथ्यांक गत आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा ३१९ मेट्रिक टनले बढी हो । गत आर्थिक वर्षमा ६ हजार २९ हेक्टरमा २८ हजार ५५९ मेट्रिक टन धान उत्पादन भएको थियो।
क्षेत्रफल झन्डै उस्तै भए पनि उत्पादकत्वमा सुधार आएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले बताए। “धान उत्पादन बढ्नुको मुख्य कारण उत्पादकत्वमा आएको वृद्धि नै हो । समयमै भएको वर्षा, उन्नत बीउको प्रयोग र रासायनिक मलको सहजताले यो सम्भव भएको हो,” घर्तीले भने ।
धान खेती हुने क्षेत्रफल घट्दो
बढ्दो सहरीकरण, खेती गर्ने जनशक्तिको अभाव, र खेतीयोग्य जमिनको बाझोपनका कारण धान खेती हुने क्षेत्रफल भने घट्दै गएको छ। आर्थिक वर्ष २०७९÷०८० मा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा चालु आर्थिक वर्षमा आएर ६ हजार हेक्टरमा मात्र खेती भएको छ। यस अवधिमा १,०३७ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको कृषि कार्यालयले जनाएको छ।
सल्यानका मर्मपरिकाँडा, बनगाड जिउला, गरी जिउला, रेशम जिउली, कालिमाटी रामपुर, र काल्चे काप्रेचौर धान उत्पादनका पकेट क्षेत्रका रूपमा चिनिन्छन्। यी क्षेत्रहरूले जिल्लाको धान उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
खेतीयोग्य क्षेत्रफल घट्दै गए पनि सल्यान हालसम्म खाद्यान्नमा आत्मनिर्भर जिल्लामा पर्दछ। कृषि प्राविधिकहरूका अनुसार यदि खेतीयोग्य जमिनको सदुपयोगमा ध्यान दिइयो भने उत्पादन अझ वृद्धि गर्न सकिने सम्भावना रहेको छ।
सल्यानमा बढ्दो सहरीकरण र जनशक्तिको अभाव जस्ता चुनौतीबीच पनि उत्पादन र उत्पादकत्वको वृद्धिले कृषि क्षेत्रप्रतिको आशा कायम राखेको छ। यस उपलब्धिलाई निरन्तरता दिन कृषि क्षेत्रमा थप लगानी र योजनाबद्ध प्रयास आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्।