काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिकामा कृषि मिनि ल्याब स्थापना गरिएको छ । आधुनिक कृषि प्रविधि र कृषक सुविधालाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि मिनि ल्याब, चिस्यान केन्द्र, कृषक परामर्श सेवा केन्द्र, कोशेली घर, र तीनवटा भवनसहितका संरचना स्थापना गरिएका छन् । शनिबार आयोजित विशेष कार्यक्रमका बीच यी संरचनाहरूको उद्घाटन गरिएको थियो ।
उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माण र सामाजिक कार्यहरूमा राजनीति घुसाउनु नहुने बताएका छन्। उनले यी संरचनाहरूले कुनै एक पार्टीका किसान मात्र नभई सबै पार्टी र विचारका किसानहरूको हित गर्ने भएकाले राजनीति रहित सहकार्यको आवश्यकता रहेको उल्लेख गरे । फरक प्रसंगमा उनले आफ्नो भौतिक मन्त्री कार्यकालमा राप्ती राजमार्गको स्तरोन्नतिको पहल गर्दै बजेट बिनियोजन गरेको र केही काम कार्यान्वयनमा रहेको जानकारी पनि दिए ।
कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले आफ्नो कार्यकालमा कृषकहरूलाई लक्षित गरी थुप्रै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको दाबी गरे। उनले कृषि उपज बजारका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गरेको स्मरण गर्दै जिल्लाका सबै १० पालिकालाई लक्षित गरी योजनाहरू अघि बढाएको बताए ।
किसानका लागि परामर्श र प्रविधि सेवा
उक्त कार्यक्रममा किसानहरूले आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका थिए। किसानहरूले माटोका नमुनाहरू ल्याई कृषि मिनि ल्याबमा परिक्षण समेत गराएका थिए । कृषि अधिकृत चिरञ्जीवी पुरीसहितका प्राविधिकहरूले परिक्षण नतिजाका आधारमा किसानहरूलाई परामर्श सेवा प्रदान गरे। साथै, पशुपन्छी विकास शाखाका प्रमुख डा। विनिता केसीसहितका प्राविधिकहरूले गोबरका नमुनाहरू परीक्षण गरी परामर्श दिएका थिए ।
कार्यक्रममा नेपाल मगर संघको पञ्चेबाजा नृत्य र दानबाङको पैसेरु नृत्य प्रस्तुत गरिएको थियो, जसले स्थानीय सांस्कृतिक र परम्परागत महत्वलाई उजागर गरेको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, र स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कृषि मिनि ल्याब, चिस्यान केन्द्र, र कृषक परामर्श सेवाका संरचनाहरूको स्थापनाले कपुरकोट गाउँपालिकालाई आधुनिक कृषि प्रविधिको केन्द्र बनाउने विश्वास गरिएको छ। यसले कृषकहरूको उत्पादन वृद्धि, संरक्षण, र बजार व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।