काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।
अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाउले उनी फेरि समातिन सक्नेछन् ।
उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।
यसअघि गत ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा लगेको थियो ।
सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाएको थियो ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको थियो । तर करिब २८ करोड बिगो दाबी गरिएको मुद्दामा अदालतले रविसँग ६५ लाख धरौटी मागेको हो ।