काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्प प्रभावितका लागि जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरेको छ । भूकम्प प्रभावित विपन्न किसानहरूको लागि जीविकोपार्जनमा सहयोग पुर्याउने उद्धेश्यले सशर्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
जीविकोपार्जन कार्यक्रमअन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १ सय ९३ घरपरिवारलाई प्रतिव्यक्ति रु। ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । उनका अनुसार अनुदान कार्यक्रम अन्तर्गत लाभग्राहीहरूले कुल ९६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो किस्तामा प्रतिव्यक्ति रु। २५ हजार वितरण भइसकेको छ भने दोस्रो किस्ताका लागि अनुगमन प्रक्रिया जारी रहेको उनले बताए । अनुदान प्राप्त गर्ने लाभग्राहीहरूले विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।
बाख्रा पालनमा १२८ जना, भैंसी पालनमा ३७ जना, सिलाइ कटाइमा ८ जना, किराना पसलमा ७ जना, आरण उद्योगमा ४ जना, कुखुरा पालनमा ४ जना, कुटानी पिसानीमा २ जना, खाजा नास्ता होटलमा १ जना, तरकारी खेतीमा १ जना र तरकारी तथा फलफूल पसलमा १ जना संलग्न भएका छन ।
भूकम्प पीडित दार्मागाउँपालिका ५ का विरेन्द्र प्रकाश खड्काले जिविकोपार्जन कार्यक्रमले राहत भएको बताए । सोही वडाका पदमी कामीले किराना पसल सुरु गरेको र त्यसवाट आफूलाई आयआर्जनको लागि सहयोग पुगेको बताए ।
भूकम्प प्रभावितहरूलाई प्रदान गरेको रकमवाट बाख्रापालन गर्ने किसानहरूले रकमबाट तीन वटासम्म बाख्रा किन्ने तथा गोठ र खोर आफैले बनाउने छन भने भैँसीपालन गर्ने किसानले केही रकम आफूले थपेर लैनो भैँसी किन्नुपर्ने छ ।
कार्यक्रम संयोजक तामाङले भूकम्प प्रभावितको पेसा व्यवसायमा सहयोग होस् र जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्धेश्यले सशर्त अनुदान रकम प्रदान गरिएको बताउनुभयो । भूकम्पबाट दार्मा गाउँपालिकामा चार हजार ८० सर्वसाधारणको घरमा क्षति पुगेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर ओलीले भूकम्पवाट ३६ विद्यालय, नौ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ वटा सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको बताए ।