काठमाडौँ । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका जिल्लामै विकट र विकासका दृष्टिकोणले पछाडि परेको पालिका हो । देश संघीयतामा गएसँगै यस पालिकाको मुहार फेरिन थालेको छ । पहिले सामान्य सेवा सुविधाबाट पनि बञ्चित हुँदै आएका चौकुनेबासीका आवश्यक्ता पुरा हुँदै गएका छन् ।
पहिले सामान्य सडक यातायात र खानेपानी लगायतका सामान्य आधारभूत आवश्यक्तबाट समेत टाढा रहेका चौकुनेबासीका लागि देश संघीयतामा गएसँगै त्यो पुर्ती हुन थालेको चौकुने गाउँपालिका अध्यक्ष खड्क विक (बिवस बासपाने) बताउँछन् । पहिले हामीले निकै दुःख कष्टहरु भोग्यौँ,’उनले भने, ‘देश संघीयतामा गएसँगै चौकुनेबासीको दैनिकीमा सहजता आउन थालेको छ ।
चौकुनेमा खडक विक (बिवस बासपाने) अध्यक्षमा निर्वाचित भएसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका कुरामा जोड गर्दै आएका छन् । खानेपानी नपुगेको ठाउँमा खानेपानी र बाटो नभएको ठाउँमा बाटो पुगाएर चौकुनेबासीलाई सहजता बनाउँदै आएका छन् । सोही क्रममा गाउँपालिकाकै बिकट मानिएको चौकुने गाउँपालिका – ३ बेतान शोभान चौरमा सडक बनेसँगै पहिलोपटक गाडी पुग्दा स्थानीय उत्साहित भएका छन् । गाउँपालिकाले हरेक वडामा सडक विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको छ । यसले स्थानीयलाई यातायातको सुविधा मात्र होइन, आर्थिक र सामाजिक सुधारको अवसर पनि प्रदान अपेक्षा गरिएको स्थानीय बताउँछन् ।
चौकुने गाउँपालिका ३ बेतान शोभानचौरमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीमा ठूलो खुसी छाएको छ । शोभानचौर–जामुने–खारगाडी सडकमार्गमा अबदेखि मध्यपश्चिम यातायात व्यवसायी संघको फोर्स गाडी नियमित रूपमा सञ्चालनमा आउने भएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विक (बिवस बासपाने)ले उद्घाटन गर्दै स्थानीयको वर्षौदेखिको गाडी चढ्ने सपना पूरा भएको बताए ।
चौकुने गाउँपालिकाले १० वटै वडाका अधिकांश बस्तीलाई सडक सञ्जालमा जोडिसकेको छ । बाँकी रहेका बस्तीहरूमा आगामी वर्षभित्रै सडक पु¥याउने अध्यक्ष बासपानेले प्रतिबद्धता जनाए ।
उनका अनुसार, सडक सञ्जालले ग्रामीण क्षेत्रमा मात्र होइन, नगर र वडा स्तरमा आर्थिक र सामाजिक गतिविधिलाई थप सहज बनाउनेछ ।