सर्लाही (हरिवन) । सर्लाहीको हरिवनस्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले आईतबार १९औँ वार्षिक साधारण सभा तथा २५औँ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाले यस अवसरमा ७० जना संस्थापक शेयर सदस्यलाई विशेष सम्मान गरेको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले सहकारीले विपन्न नागरिकको जीवनस्तर उकास्न उल्लेखनीय योगदान दिएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन सामाजिक सुरक्षाका काममा नगरपालिका र सहकारीबीच समन्वय आवश्यक रहेको बताइन् ।
त्यस्तै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत सुनिल थापाले संस्थाको प्रगतिलाई प्रशंसा गर्दै यसका इन्डिकेटरहरू तुलनात्मक रूपमा राम्रो रहेको बताए । विशेष गरी संस्थाले सञ्चालन गरेको विद्यालयलाई प्रभावकारी कदमको रूपमा उनले प्रशंसा गरे । तथापि, बक्यौता ऋण असुलीमा थप ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
संस्थाले बहुउद्देश्यीय सेवामार्फत बचत तथा ऋण व्यवस्थापनसँगै विद्यालय सञ्चालन, एलपी ग्यास र रासायनिक मलखाद वितरणजस्ता सेवा प्रदान गर्दै आएको छ । वार्षिक प्रतिवेदन अनुसार, संस्थाले हरिवन–१, भोक्टिनीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । विपन्न नागरिकको बाक्लो उपस्थिति रहेको भोक्टिनी क्षेत्रका लागि यो विद्यालय सहकारीको सामाजिक उत्तरदायित्वको उदाहरण समेत बनेको छ । एक विगाह ५ धुर जग्गा खरिद गरेर सुविधा सम्पन्न १५ कोठे पक्की भवनबाट कक्षा ६ सम्मको अध्यापन गरिएको संस्थाका उपाध्यक्ष पोतेले जानकारी दिए ।
आर्थिक वर्ष २०८०÷०८१ मा ४८ करोड बढी कारोबार
सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा ४८ करोड ४५ लाख ८२ हजार ३८६ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ । प्रतिवेदनअनुसार, असार मसान्तसम्ममा संस्थाले ३० करोड १९ लाख ३१ हजार ४५३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ हजार छसय ३२ शेयर सदस्यहरुमार्फत ६ करोड ४ लाख ३८ हजार ५ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ ।
त्यस्तै, संस्थाले ३३ करोड ७३ लाख ५४ हजार ६०९ रुपैयाँ कर्जा लगानी गरी ८१ लाख ३९ हजार ९८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कर्जा नोक्सानीमा ४४ लाख २५ हजार रुपैयाँ छुट्याउनुपरेकाले यस वर्ष शेयर सदस्यहरूको लाभांशमा केही कमी आएको सहकारीका निमित्त प्रबन्धक सबिनहरि अधिकारीले जानकारी दिए । यस वर्ष कुल ११ प्रतिशत बोनस वितरण गरिएको छ ।
सहकारीले १० प्रकारका बचत खाता (दैनिक, मासिक, विशेष, बाल बचत, मुद्धती बचत आदि) र विभिन्न ऋण खाता (कृषि, स्वरोजगार, घर निर्माण, वैदेशिक रोजगार ऋण आदि) सञ्चालन गर्दै आएको छ । साथै, ६ करोड ३९ लाख २७ हजार ६६७ रुपैयाँ जगेडा कोषमा विनियोजन गरी संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाइएको छ । संस्थाले यसवर्ष शेयर लाभांस कोषबाट कुल ११ प्रतिशत बोनस सदस्यलाई वितरण गरिएको संस्थाका उपाध्यक्ष कृष्णओम पोतेले साधारण सभामा जानकारी दिएका छन् ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, असल ऋणी, नियमित बचतकर्ता, तथा पत्रकारिता पुरस्कारबाट व्यक्तिहरूलाई सम्मान गरिएको छ । मनोकामना पत्रकारिता पुरस्कार २०८१ गोरखापत्र दैनिकका सर्लाही संवाददाता जनार्जन खत्रीलाई प्रदान गरिएको छ ।
साधारण सभामा रमेश चौलागाईको सञ्चालन र संस्थाका उपाध्यक्ष कृष्णओम पोतेको स्वागत मन्तव्य रहेको थियो ।
मनोकामना सहकारीले स्थापनाकालदेखि विपन्न वर्गको सशक्तीकरण, शिक्षा, वित्तीय सेवा र सामुदायिक विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।