सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको सहारा मल्टिपर्पस को अपरेटिभ सोसाइटी लिमिटेडले शनिबार २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा करिब ८९ करोड ९७ लाख ९ हजार ७ सय ९२ रुपैयाँको कुल कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेको छ ।
संस्थाले गत वर्षको अन्त्यसम्म ७६ करोड, २७ लाख, ७० हजार ९ सय २८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ हजार ८ सय ३९ जना शेयर सदस्य मार्फत ५ करोड, ५ लाख, ८३ हजार ४ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । साथै, संस्थाले ५९ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको संस्थाका मुख्यप्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिए ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार, केही ऋणी सदस्यहरूले समयमै ब्याज नबुझाएपछि संस्थाको ८ करोड ३३ लाख १७ हजार १ सय ६३ रुपैयाँ ब्याज असुल गर्न नसकेको संस्थाले जनाएको छ । यसले निक्षेपकर्ता तथा शेयर सदस्यहरूलाई असर गरेको अध्यक्ष वसी अहमद मिकरानीले बताए । उनले ऋणी सदस्यहरूलाई कम्तीमा ब्याज रकम बुझाउन आग्रह गर्दै संस्थाको दीर्घकालीन स्थायित्वका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
संस्थाले जगेडा र अन्य कोषमा १६ लाख ७२ हजार, २१ रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷ ८२ मा ६ अर्व, ४९ करोड, १० लाख ८० रुपैयाँ कारोबार पु¥याउने र २ करोड ८० लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका श्रम तथा यातायात व्यवस्थामन्त्री कौशल किशोर रायले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीले उद्यमशीलताको प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आर्थिक मन्दीबाट प्रभावित ऋणीहरूका लागि विशेष प्याकेजको प्रस्ताव गर्नुपर्ने बताए । उनले सहकारी र ऋणी सदस्यहरूबीचको विश्वास र इमान्दारितालाई थप सुदृढ गर्न सुझाव समेत दिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट सेवा केन्द्र, ऋणी, बचतकर्ता र कर्मचारीहरूलाई सम्मान गरिएको थियो । संस्थाले निकट भविष्यमा मलंगवामा प्रधान कार्यालयको भवन निर्माण सुरु गर्ने योजना समेत अघि सारेको संस्थाले बताएको छ ।
हाल सहारा मल्टिपर्पसले आफ्नो सेवा १२ स्थानबाट प्रवाह गर्दै आएको छ । उक्त स्थानहरूमा सर्लाहीको हरिवन, बरहथवा, गोडैता, पर्सा, कटहिया रौतहट, सिमरा बारा, कोल्वी बारा, निजगढ बारा, हेटौंडा मकवानपुर, गौशाला महोत्तरी र चितवनको नारायणगढबाट सेवा प्रवाह गर्दै आएको संस्थाले जनाएको छ ।
साधारण सभाले सहकारीको जिम्मेवारी, पारदर्शिता र भविष्यका योजनाहरूलाई थप मजबुत बनाउँदै अघि बढ्न संस्थाका सदस्यहरूलाई प्रेरित समेत गरेको छ ।