काठमाडौँ । दैलेखको नारायण नगरपालिकाले बालविवाह अन्त्य गर्नका लागि रणनीति तयार गरेको छ । बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल दैलेखको सहकार्यमा मंगलबार र बुधबार दुई दिने बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजना कार्यशाला नै चलाएर रणनीति बनाइएको नगरपालिकाले जनाएको छ ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, उप-प्रमुख तप्ताकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा, ११ वटै वडाका वडाध्यक्ष, नगरपालिकाका विषयगत शाखा प्रमुख, नागरिक समाज समेतको सहभागितामा नगरपालिकाले तयार पारेको बालविवाह अन्त्य सम्बन्धी रणनीतिक योजनामा पृष्ठपोषण दिएर योजनालाई अन्तिम रुप दिइएको थियो ।
संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य, सन् २०३० सम्म नेपाल सरकारको बालविवाह अन्त्यको लक्ष्य लिएको अवस्थामा नारायण नगरपालिकाले अवको तीन वर्षमा बालविवाह अन्त्यको लागि सचेतनामूलक कार्यक्रम, युवाहरुलाई शिक्षा र जीवन उपयोगी सीपमा क्रियाशील गराउनेदेखि बालविवाह भएको घटनामा कानूनी कारर्वाहीसम्मको रणनीतिहरु तय गरिएको नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले जानकारी दिए ।
सामाजिक प्रयासबाटै बालविवाह रोक्न सामाजिक अगुवाहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी प्रभावकारी जनचेतना दिइने नगरप्रमुख शर्माले बताए । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष अमर सुनारले बालविवाह गर्नेहरुलाई कानूनी कारवाही चलाइनुपर्ने धारणा राखेका थिए ।
नगरपालिकाले बालविवाह अन्त्यका लागि तयार पारेको रणनीतिक योजना कार्यान्वयनमा नागरिक समाज र सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास लिएको बताइएको छ ।