काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकाले विद्युतका तार छोड्ने र पोल व्यवस्थापनमा लापरवाही गरेको पाइएको छ। ठाटीकाँध गाउँपालिकाका विभिन्न वडामा विद्युतका पोलहरू गाडेर छोडिएका छन् भने केही ठाउँमा पोलहरू ढलेका अवस्थामा रहेका छन्। यो अवस्थाले स्थानीय बासिन्दाको दैनन्दिन जीवनमा कठिनाइ निम्त्याएको छ।
गाउँपालिकाका विभिन्न वडाहरूमा विद्युतका पोलहरू ढल्नाले सवारी आवतजावत र स्थानीय जनजीवन प्रभावित भएको छ। ठाटीकाँध गाउँपालिका वडा नम्बर - २ स्थित तलिशेरा भन्ने स्थानमा पोल ढलेको एक वर्ष पुग्न लाग्दा पनि समस्या समाधानतर्फ कुनै पहल भएको छैन। “पोल ढलेको एक वर्ष पुग्न लाग्यो, तर अझै जस्ताको तस्तै छ। यसले गर्दा तलमाथि आवतजावत गर्न निकै समस्या भएको छ,” स्थानीय प्रेम बमले गुनासो गरे।
केही पोलहरू निजी जग्गामा ढलेका छन् भने केही पोलहरू रुखमा अडेस लगाएर राखिएको देखिन्छ। यसबाट विद्युत आपूर्ति व्यवस्थापन मात्र होइन, सुरक्षा जोखिमसमेत बढेको स्थानीयहरूले बताएका छन्।
विद्युतीकरणका लागि जिम्मेवार ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायका अनुसार समस्या देखिएको स्थानमा अहिले पनि काम भइरहेको छ। “हाल गाउँपालिकाभर ५९ प्रतिशत विद्युतिकरणको काम सम्पन्न भएको छ। विद्युत प्राधिकरणले समस्या समाधानका लागि कर्मचारी खटाएको छ र काम जारी छ,” उनले बताए ।
गाउँपालिकाले पोल गाड्ने क्रममा प्राधिकरणसँग सहकार्य नगरेर पोलहरु बितरण गर्दा त्यस्तो समस्या भएको विद्युत प्राधिकरण दैलेखका प्रमुख नरेशदत्त रावलले बताए। उनका अनुसार गाउँपालिकाले मनमर्जी रुपमा वडाबासीलाई करिब ६ सय पोल वितरण गर्दा यो समस्या उत्पन्न भएको हो। “पालिकाले पोल वितरण गर्दा उचित योजना बनाएर काम नगर्दा यस्तो समस्या आएको हो । तर, प्राधिकरणले जिम्मेवारीबाट पन्छिन मिल्दैन । हामीले समस्या समाधान गर्न लाग्छौँ,” उनले भने ।