काठमाडौँ । दैलेखमा १ सय ५० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर सञ्चालनमा आएको छ। फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दैलेखले यो सुविधा उपलब्ध गराएको हो । कृषि सामग्री केन्द्रको पुरानो र जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधासहितको कोल्ड स्टोर भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
तीनवटा चेम्बरसहितको यो कोल्ड स्टोर सञ्चालनमा आएसँगै किसानहरूमा खुशी छाएको छ। किसानहरूले आफ्नो उत्पादनलाई भण्डारण गरेर उपयुक्त समय र मूल्य पाउन सक्ने विश्वास गरेका छन्।
दुल्लू नगरपालिका–११ भुकाँहाका ठाकुर केसीले आफ्नो बारीका तीन हजार सुन्तला कोल्ड स्टोरमा भण्डारण गरेका छन्। 'बारीमा ५०० बढी सुन्तलाका विरुवा छन्, जसमध्ये ३०० बढीले उत्पादन दिन्छन्। अघिल्लो वर्ष कम मूल्यमा विक्री गर्दा घाटा व्यहोर्नु पर्यो । अब सिजन अफ भएपछि राम्रो मूल्यमा विक्री गर्न सक्छौं भन्ने आशा छ,' उनले भने ।
भैरवी गाउँपालिका–७ का राजेश कँडेलले पनि दुई क्विन्टल किवी भण्डारण गरेका छन् । 'किवीको माग धेरै भए पनि एकै समयमा फल्ने भएकाले राम्रो मूल्य पाउन समस्या हुने गरेको थियो । अब केही महिना सुरक्षित राख्न सक्ने भएपछि उच्च मूल्यमा विक्री गर्न सक्नेछु,' कँडेलले बताए ।

किसानहरूले सुन्तला, किवी, जुनार, कागती, स्याउजस्ता फलफूलका साथै तरकारी भण्डारण गर्न पाउने भएपछि उत्साहित भएका छन् । कोल्ड स्टोरले उत्पादनको दीर्घकालीन भण्डारण सुनिश्चित गरी किसानलाई बजारमा राम्रो मूल्य पाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ६० लाख रुपैयाँ लागतमा दुई वर्षअघि कोल्ड स्टोरको भवन निर्माण सम्पन्न भएको थियो । थप ७९ लाख रुपैयाँ खर्च गरी अत्याधुनिक उपकरण जडान गरेर कोल्ड स्टोरलाई पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजका अनुसार किसानहरूले उत्पादनको सही मूल्य पाउन र थप आम्दानी गर्न सकून् भन्ने उद्देश्यले जति सक्दो छिटो कोल्ड स्टोर सञ्चालनमा ल्याइएको हो। 'अब किसानहरूले सिजन अफमा उत्पादनको उचित मूल्य पाउनेछन्,' उनले भने ।
कोल्ड स्टोर सञ्चालनमा आएसँगै दैलेखमा कृषि उपजको भण्डारण क्षमता बढ्नुका साथै किसानको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ
।