काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।
सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा।पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा।निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा मन्त्री पौडेलले सबै संघीय अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए । ‘अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्नेगरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँचयोग्य बनाइनेछ,’ उनले भने ।
अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा। श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिक लगायत सहयोग गर्ने बताए । आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।
‘मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्,’ ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापन लगायत काम गर्न एक महिना लाग्न सक्छ,’ श्रेष्ठले भने । उनले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताए । उनले अंग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यकपर्ने कानुनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाए ।