काठमाडौँ । दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिकामा विपद पतिकार्यका लागि विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ । विपद प्रतिकार्यका लागि नगरपालिकालाई १३ लाख ४१ हजार २ सय ५९ रुपैयाँ बराबरको विपद प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको छ । विपदपश्चात बालबालिकामाथि पर्ने सम्भावित जोखिम न्यूनिकरण गर्दै प्रभावित समुदायलाई तत्काल पुनस्थापना र आत्मनिर्भरतामा प्रोत्साहित गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले गोरखाको वारपाक र जाजरकोटमा भएका विनाशकारी भूकम्पले धेरै पाठ सिकाएको बताए । ‘स्थानीय सरकारलाई दातृ निकायले विपद प्रतिकार्य सामग्री उपलब्ध गराउनु भनेको हामी तयार छौं भन्ने सन्देश हो । स्थानीय सरकारले पनि यस योजनामा तयार रहनुपर्छ,’ उनले भने ।
मन्त्री भण्डारीले शैक्षिक पूर्वाधार अझै कमजोर रहेको उल्लेख गर्दै सुरक्षित विद्यालयका भौतिक संरचना निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । साथै, प्रदेश सरकारले गुणस्तरीय शिक्षा उपलब्ध गराउन शिक्षा नीति निर्माणको प्रक्रियामा रहेको पनि उनले बताए ।

नगर प्रमुख गणेश कुमार शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकाको तर्फबाट साझेदार संस्थालाई धन्यवाद दिए। ‘स्थानीय सरकारले पनि हरेक वर्ष विपद प्रतिकार्यका लागि बजेट व्यवस्थापन गर्दै आएको छ । तर, ठूलो संख्यामा व्यवस्थापन गर्न भने चुनौती रहिरहेको छ,’ शाहीले भने । पहाडमा बाढी र पहिरोको जोखिम रहेको उल्लेख गर्दै मेयर शाहीले सम्भावित क्षेत्र र प्रभावित समुदायको पहिचान गरिएको जानकारी दिए । ‘विपद कहिले र कसरी आउन सक्छ भनेर ठ्याक्कै अनुमान गर्न सकिदैँन । तर, जस्तोसुकै विपदको सामना गर्न पूर्वतयारीमा हामी सचेत छौं र हनुपर्छ । यस सहयोगले थप बल प्रदान गर्नेछ,’ उनले भने ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका हेड अफ फिल्ड प्रोग्राम अपरेसन रत्नराज ओझाले संगठनको प्रयासबारे जानकारी गरेका थिए । उनले प्रथम विश्वयुद्धमा बालबालिका प्रभावित भएपछि उनीहरूको अधिकार संरक्षण र सम्मानका लागि स्थापना भएको सेभ द चिल्ड्रेनले विभिन्न देशमा बालअधिकारका क्षेत्रमा काम गर्दै आएको बताए । ‘हामीले बालबालिकालाई विपदबाट सुरक्षित राख्न योजनाबद्ध तयारी आवश्यक देखेका छौं,’ उनले भने,‘ बालबालिका भविष्य मात्र नभई वर्तमान पनि हुन ।’
ओझाले नेपाल सरकारले १९९० मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी पारित गरेको उल्लेख गर्दै स्थानीय तहमा कानूनी प्रावधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘बालबालिकाप्रति जिम्मेवार रहने सोचका कारण सेभ द चिल्ड्रेनले विपद प्रतिकार्यका लागि गैर खाद्य सामग्री वितरण गरेको हो,’ उनले भने । कर्णाली प्रदेशका ६ वटा पालिकामा गैर खाद्य सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले विपद बाजा बजाएर नआउने बताए । ‘विपदबाट प्रभावित समुदायलाई तत्काल राहत र पुनस्र्थापना गर्न सहयोग र्पुयाउन सामग्री हस्तान्तरण गरिएको हो,’ उनले भने ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपाल दैलेखले विपद प्रतिकार्यका लागि विभिन्न सामग्री उपलब्ध गराएको छ । यसमा प्रिफ्याब अस्थायी सिकाइ केन्द्र २, शौचालय २, आधारभूत सेल्टर सामग्री १५, हाइजिन किट, डिग्निटी किट, ५ वर्ष मुनिका बालबालिकाका सामग्री, शिक्षक र विद्यार्थीका लागि स्वास्थ्य सामग्री लगायतका सामाग्री रहेका छन् ।