काठमाडौँ । कर्णाली प्रदेशमा बलात्कारका घटनामा बर्सेनि वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय, सुर्खेतका अनुसार आर्थिक वर्ष २०७८ देखि २०८१ सम्म जबरजस्ती करणीका ५६४ मुद्दा र बलात्कार प्रयाससम्बन्धी १२४ मुद्दा दर्ता भएका छन्।
आव २०७८/७९ मा जबरजस्ती करणीका १५० मुद्दा र बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) सम्बन्धी ४५ मुद्दा दर्ता भए। यस्तै, आव २०७९/८० मा जबरजस्ती करणीका २०६ मुद्दा र बलात्कार प्रयासका ४५ मुद्दा दर्ता भएका थिए। पछिल्लो आव २०८०/८१ मा जबरजस्ती करणीका २०८ मुद्दा र बलात्कार प्रयासका ३४ मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षमा हालसम्म ६० वटा जबरजस्ती करणी र १८ वटा बलात्कार प्रयाससम्बन्धी मुद्दा दर्ता भइसकेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीका अनुसार जनसङ्ख्या र सहरीकरण बढ्दै जाँदा यस्ता घटना बढ्न थालेका छन् । साथै, पीडित महिलाहरू अन्यायविरुद्ध बोल्न र न्यायको लागि उजुरी दिन अगाडि सर्ने प्रवृत्ति पनि बढिरहेको छ। सामाजिक सञ्जालको प्रयोगले घटनाहरू लुकाउन नसकिने अवस्था सिर्जना गरेको छ भने यसको दुरुपयोगले समस्या थप जटिल बनाएको छ।
डाँगीका अनुसार बलात्कारका घटनालाई न्यूनीकरण गर्न स्थानीय सरकार, समाजसेवी र समुदायको सक्रिय भूमिका आवश्यक छ। प्रहरी प्रशासनले जिल्ला, इलाका र चौकीस्तरसम्म सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको छ। उनले शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।
अधिकारकर्मी पवित्रा शाहीले भने यस्ता घटनामा पितृसत्तात्मक सोच र संरचनाको प्रभाव रहेको बताउँछिन्। “समाजमा पुरुषलाई केन्द्रमा राख्ने सोच, महिलालाई कमजोर र अधिकारविहीन ठान्ने प्रवृत्तिले यस्ता घटनालाई मलजल गरिरहेको छ। घर, समाज र न्याय प्रणालीमा अझै पनि लैङ्गिक विभेद रहेकोले समस्या जटिल बनेको छ,” शाहीले बताइन्।