सर्लाही (हरिवन) । सर्लाहीको हरिवन नगरपालिकामा रहेको सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाले २७ करोड बढीको कारोबार गरेको छ । शनिवार संस्थाको १४औँ वार्षिक साधारण सभाको अवसरमा सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाले २७ करोड, १७ लाख, ५ सय १३ रुपैयाको कुल कारोबार गरेको हो ।
गत अर्थिक वर्ष २०८०÷८१ को अवधिमा २७ करोड, १७ लाख, ५ सय १३ रुपैँयाको कुल कारोबार गरेको संस्थाका प्रबन्धक रबिन्द्र बहादुर थापाले जानकारी दिए ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा २० करोड, ६१ लाख, १३ हजार ८ सय ५४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ हजार शेयर सदस्य मार्फत २ करोड, २६ लाख, ५४ हजार ४ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ ।
त्यस्तै संस्थाले २० करोड ९ लाख, १ हजार, ४ सय ३८ रुपैया कर्जा लगानि गरेर ६७ लाख, ४२ हजार, ३ सय ५७ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका प्रबन्धक थापाले बताए ।
नियमित, बाल शैक्षिक, ऐच्छिक, आवधिक, क्रमिक, नारी उत्थान गरि ६ प्रकारका खाताबाट संस्थाले कारोबार गरिरहेको उक्त संस्थाले सदस्यहरुलाई निशुल्क एसएमएस र मोवाईल बैङ्किङ्ग सेवा प्रदान गरेको कार्यक्रमा उल्लेख गरिएको छ ।
संस्थाले जगेडा कोष तर्फ २ करोड, २ लाख, ३१ हजार, ९ सय ४० रुपैयाँ र अन्य कोषहरुमा ७४ लाख, १० हजार ९ सय ८९ रुपैयाँ विनियोजन गरि संस्थाको अवस्था बलियो बनाएको छ । संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा ८९ लाख, ८९ हजार मुनाफा लिने प्रस्तावित कार्ययोजना समेत सार्वजनिक गरेको छ । संस्थाले यसवर्ष शेयर लाभांस, संरक्षित पुँजीफिर्ता कोषबाट गरि कुल १५.६२ प्रतिशत बोनस सदस्यलाई वितरण गरिएको संस्थाका कोषाध्यक्ष दिनेश केसीले जानकारी दिए ।
संस्थाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलानले ग्रामिण क्षेत्रमा रहेका स–साना पुँजी संकलन गरेर निम्नवर्गिय नागरिकलाई जिवीकोपार्जनमा सहयोग गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको उल्लेखगर्दै साना कार्यकालागि सहकारीमार्फत कारोबार गर्नेतर्फ सबैलाई जोड दिइन् ।
कार्यक्रममा सहकारी संजाल हरिवन नगरका संयोजक रामप्रसाद घिमिरे, हरिवनका वडाअध्यक्षहरु क्रमश शेष महबुब रेजा, शम्भुप्रसाद मैनाली, राष्ट्रिय सहकारी बैंक हरिवनका प्रबन्धक नारायण लामिछाने, नेफ्स्कुन फिल्ड कार्यालय हरिवनका महेश बराल, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोते लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै साधारण सभाले संस्थामा रिक्त रहेको संचालक समितिलाई पुर्णता दिएको छ । रिक्त रहेको सचिव पदमा कृष्णप्रसाद श्रेष्ठ र संचालक सदस्यमा जयन्ती कुमारी आलेलाई सभाले चयन गरेको छ ।