काठमाडौँ । गत असोज ११ र १२ गते टुङ्गुन र धामीखोला नदीमा आएको बाढीले महाङ्काल गाउँपालिकाको केन्द्र समेत रहेको गाटीखेल बजारलाई तहसनहस बनायो । तहसनहससँगै पुर्ण रुपमा बजारलाई ध्वस्त बनायो । दक्षिण पूर्वीमा रहेको ललितपुरको गोटीखेल बजार अहिले बाढीले बगरको रूप परिणत भएको छ । उक्त बाढीले ललितपुर जिल्लाका विभिन्न ठाउँमा ६ अर्ब भन्दा बढी क्षती भएको बताइएको छ ।
बाढीका कारण महाङ्काल गाउँपालिकाको गोटीखेल बजार नै तहसनहस बनाएको छ । उक्त ठाउँ बाढीका कारण मैदानमा परिणत भएको छ । गोटीखेलमा रहेको खुवा कम्पनीे, वैतरर्णी धाम र धाममा रहेको १०८ शिवलिङ्ग, हवन कुण्ड र अन्य पक्की संरचनाहरूमा ठूलो क्षति पुगेको महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले जानकारी दिए । त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो । संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” गाउँपालिका अध्यक्ष केसीले भने, “निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भयोे ।’
बाढीका कारण मैदानमा परिणत भएको महाङ्काल गाउँपालिकाको केन्द्र गोटीखेल बजार
तस्बिर : गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टको फेस्बुकवालबाट
बाढीका कारण गोटीखेल बगरमा परिणत भएको स्थानीय बाढीपीडित प्रेम श्रेष्ठले बताए । उनले भने, “मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियोे, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।”
विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युतगृहमा आंशिक क्षति भएको छ भने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको छ । बाढीका कारण खानेपानी, सडकमा समेत ठूलो क्षती पु¥याएको र अहिलेसम्म मर्मत नसकिएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । बाढीका कारण बिजुलीका पोलहरु र लाइनहरु लगायत सडक र खानेपानीमा ठूलो असर पु¥यायो,’उनले भने, ‘अहिलेसम्म पनि बनाउँदै छौँ बनाउन सकिएको छैन । क्षतीको हिसाबै छैन अबौँको क्षती भयो ।’
खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए ।
यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले रु २० लाख दिएको छभने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी रु एक करोड प्रदान गर्ने कुरा भएको गाउँपालिका अध्यक्ष केसीले बताए । विभिन्न संघसंस्थाहरुबाट खाद्यान्न, लत्ताकपडा भाडाकुडा सहयोग भइरहेको छ,’उनले भने, ‘संघसंस्थाहरुले आफ्नै तरिकाले बितरण गरेकाले बितरणको यकिन तथ्यांक छैन ।’
अन्य संघसंस्थाहरुमा यूनिसेफ नेपालले पाँचजना सम्मको प्रभावित परिवारलाई १५ हजार र सोभन्दा माथि भएको परिवारलाई २० हजार उपलब्ध गर्ने बताएको छ ।’
त्यस्तै नेपाल रेडक्रस सोसाटीले पूर्ण क्षती भएको परिवारलाई १५ हजार उपलब्ध गराउने बताएको छ ।
बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए ।
“विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो ।