दैलेख । तराईको समथर मैदानमा सेवा सुविधा र जीवनको सहजताले लोभिएका धेरै परिवारहरु अहिले फेरी आफ्नै पुरानो थलो पहाडतिर फर्किरहेका छन् । चिसो हावापानी र हिमालको काखमा सिङ्गो परिवारको आधार बनेको पहाडको माया आज फेरी जाग्न थालेको छ । पहाड घर छोडेर तराईँ झरेका धेरैका लागि त्यहाँको जीवनशैली सधैं सजिलो रहन सकेको छैन । विभिन्न कठिनाइले गर्दा आफ्ना पाइलाहरु फेरी पहाडकै भेगमा फर्किन थालकेका छन् ।
पहाड छोड्दा
२०६९ सालतिर दैलेखको ठाटीकाँध गाउँपालिका -२ पीपल चौताराका हरि बिकले आफ्नो परिवार सहित सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर - ५ इखेनी बसाइँ सरे । दैलेख पहाडमा दैनीक जीवन कठिनाइले गर्दा हरि र उनको परिवारले तराईँमा सुविधा सम्पन्न जीवन बिताउने सपना देखे । सहरका सुगम सडक, ठूला बजार, राम्रो शिक्षा स्वास्थ्य व्यवस्था ठूला ठूला अस्पतालहरु भनेका दुर्गम पहाडका बासिन्दाहरुका लागि नयाँ संसार थिए । त्यती भए जीवन सहजतासँग चल्छ भन्ने विश्वास थियो ।
पहाडमा खानेपानी देखि स्वास्थ्य सेवा सम्मका समस्या थिए,’हरि भन्छन्, ‘सुर्खेतको सुविधा देखेर लाग्यो कि जिन्दगी सजिलोसँग चल्छ । बालबच्चाहरु राम्रो स्कुलमा राम्रोसँग पढ्न पाउने छन् । तराईँको जीवन नै बाँच्नका लागि उत्तम हुनेछ भन्ने लाग्यो ।’
तराईँमा गर्मी र विभिन्न कठिनाईहरुबीच सहज जीवन बाँच्न अप्ठेरो’,उनले भनिन्, ‘आफ्नै पहाड ठिक, जहाँ केही समय खाना नखाए पनि सिस्नो र खोले साग खाएर पनि राती आनन्दले निन्द्रा पर्छ ।’
सुर्खेतको इखेनीमा हरि धनसरीको परिवारले केही महिना हुँदै केही वर्ष बिताए । तर, तराईको गर्मी, बढ्दो जनघनत्व, प्रदुषण र बाढीले गर्दा तराईका बसोबासको जीवन कठिन हुन थाल्यो । पहाडमा स्वच्छ हावापानीमा हुर्के बढेका हरि धनसरी र उनीहरुको परिवारलाई तराईको भुभागमा जीवनयापन गर्न असहज हुँदै गयो । कठिन हुँदै गयो । उहि पहाडको शितलता र शान्ती फेरी झलझली सम्झिन थाले ।
‘पहाडबाट बसाइँ सरेर इखेनीमा बस्न थालेपछि सोचेजस्तो भएन, असह्य गर्मी हुन्थ्यो । २०८१ को बाढीले १० कठ्ठा जग्गा नै बगायो । लगाएको खेतीनै नासियो । त्यहाँका भीडभाडमा हामीलाई जीवन जीउन निकै नै असज भयो । त्यसै बेला पहाडको शुद्ध चिसो पानी, सुनद शान्त बातावरण, र हरियाली सम्झिन थाल्यौँ ।’
हरि धनसरी बिकको परिवार जस्तै तराई बसाइले उकुसमुकुस जीवन बिताएका अर्का ठाटीकाँध गाउँपालिका -४ ज्यामिचौरका बल बहादुर शाही हुन् । ७९ वर्ष पुगेका बल बहादुर दुइ वर्ष लम्कि कैलाली पुगे । छोरा बुहारीले बाआमालाई सुखमा राखौँला भन्दै लम्कि कैलाली बोलाए । तर, बल बहादुर शाही दम्पतीले मुस्किलले दुइ वर्ष बिताएर फेरी आफ्नै पहाड घर फर्किए ।
‘सहरमा सुख हुन्छ गाउँजस्तो दुःख गर्न पर्दैन भनेर सहर पुग्यौँ । त्यहाँ त के सुख हुन्थे उल्टै दुःख हुने रहेछन् । दुइ वर्ष बसेर गर्मीले राम्रो सँग खाना खान पाइँन । महंङ्गी त्यस्तै, त्यस्तै लामखुट्टेले टोक्ने । सबै छोडेर आफ्नै जन्मथलो फर्के । अब बाँचे पनि यही ठाँउँमा बाँच्ने हो मरे पनि यहीँ मर्ने हो ।’
बुढेसकालको उमेरमा पनि तरार्इँबाट पहाड फर्केका बल बहादुरले बाख्रापालन गरेका छन् । उनीसँग अहिले १० वटा बाख्रा रहेका छन् । गाउँ फर्केर छ वर्ष अघि दुइवटा बाख्रा किनेर बाख्रापालन व्यवसाय सुरु गरेर बल बहादुरसँग अहिले १० वटा बाख्रा रहेको बताउँछन् । तराईँ पुगेर बस्ने काम मात्र हुन्थ्यो,’उनी भन्छन्, ‘ बस्दा बस्दा शरिर दुखेर हैरान हुन्थ्यो । घरमा कहलिेही बसिँन । दिनभर सबै ठाउँ डुल्थो । डुलेर पनि सबै सकियो । पहाडको शीतल हावापानीमा हुर्किएको र खाएखेलेको शरिर तराईँमा पुगेर दुइ वर्ष मुस्किलले बसेँ । त्यसपछि आफ्नै जन्मथलो फर्किएँ ।’
पहाड फर्किएपछि....
तराईको शरिर पकाउने उकुसमुकुस गर्मी र कठिनाइले हरि र बल बहादुरको परिवारलाई पुन पुरानै थलो पहाड फर्काउने भयो । करिब ७ वर्षकोे इखेनी बसाइँपश्चात् हरि र धनसरी दम्पती पुरानै थलो ठाटीकाँध २ पीपल चौतारा फर्के भने लम्कि कैलालीदेखि बल बहादुर शाही ठाटीकाँध ४ ज्यामिचौर फर्के ।
‘पहाड फर्केपछि यहाँको जीवन पहिले जस्तै लाग्यो, पहिले सेवासुविधाको अभावले हामी यहाँबाट भाग्यौँ तर, अहिले हामीले पहाडमै अवसरहरु देखेका छौँँ,’धनसरीले मुस्कुराउँदै भनिन्, ‘घर आँगनमै सडकबाटो सँगै स्वास्थ्य चौकीको पनि पहुँच पुगेको पायौँ ।’
इखेनीबाट पुरान थलो फर्किएका हरि दम्पतीले गाउँ फर्केर आफ्नै पुख्र्यौली पेशा अगालेका छन् । घरमा धनसरीले घर परिवार र पुख्र्यौली पेशा समाल्छन् भने उनका श्रीमान हरिले भारतमा गएर मज्दुरी गर्दै परिवार लालनपालन गर्छन ।
सहरबाट पुरानै थलो फर्किएका अर्का बल बहादुर शाही पनि लम्कि कैलालीबाट फर्केर आफ्नै शीतल हावापानीमा रमाउँदै बाख्रापालन गरेका छन् । बिरानो सहरमा विभिन्न कठिनाइ भोग्दै हुलिएर बस्नुभन्दा आफ्नै थातथलोमा पंक्षीर्झै स्वतन्त्र उड्न आन्नद हुँदो रहेछ,’बल बहादुर भन्छन्, ‘अहिले आफ्नै थातथलोमा खुल्ला पंक्षीसरी शीतल हावापानी खादै बाख्रापालनमा रमाएको छु ।’
'तराईमा कठिनाई, पहाडमा नयाँ सम्भावना छ'
तराईमा बसाइँ सर्ने र त्यहाँ बस्ने परिवारहरुले भोग्ने गरेको मुख्य समस्या वातावरणीय कठिनाई हो । बढ्दो तापक्रम, बाढी र गर्मीले गर्दा खेतीयोग्य भूमी नाशिएको छ । हरि, धनसरी दम्पती र बल बहादुरको परिवार मात्र होइन, धेरै परिवारहरुले पहाड फर्किने गरेको देखिन्छ । तर, पहाड फर्किनेहरुको एकिन तथ्यांङ्क छैन । पहाडमा खेतीको सम्भावना, शुद्ध वातावरण, र पानीको उपलब्धता, र घरआँगनसम्मै पुगेको सडकबाटो फेरी गाउँ फर्कनको कारण बनेको देखिन्छ ।
‘हाम्रो गाउँले अब नयाँ रंग भरेको छ ।यहाँको हावा, यहाँको पानी, र यहाँको प्राकृतिक स्रोतहरुले हाम्रो जीवनलाई सुन्दरसँगै सहज बनाएका छन्,’उत्साहित भावमा धनसरीले भनिन् ।
तराईको सुविधा सम्पन्न जीवनभन्दा पहाडको हरियाली, स्वच्छ हावा र आफ्नै खेतवारीको माया पुनः जागेको देखिन्छ । हरि र बलहादुरको कथा, पहाड छाडेर तराईँ झरेका हजारौँ परिवारको प्रतिनिधित्व गर्छ । पहाडको हरियाली, प्रकृतिमा जीवनको सहजता र आत्मिए शान्ति फेला पारेको महशुस गरेका छन् ।
सेवा सुविधाले भरिँदै पहाड
पहाडमा सेवा सुविधा नभएको भन्दै तराईँ झर्ने लर्कोको लहलहैमा सुख खोज्ने आसमा तराई झर्नेहरुलाई पछुतो हुने गरि गाउँमा पनि विकासले गति लिँदै गएको छ । पहिले सेवासुविधा अभाव भन्दै पहाडबाट तराई झर्नेहरुका लागि अहिले तराई समस्या बनेको देखिन्छ भने पहाड अवसर । पहिले बाटोघाटो नपुगेको पहाडमा अहिले बाटोघाटो, विद्युत, स्वास्थ्य पुगेको छ । अब सबै सेवा गाउँमै पुगिसकेका छन् किन तराई झर्नु,’धनसरीले भनिन्, ‘पहिले हामी मूर्ख भयौँ तराई झ¥यौँ, अहिले पहाड छोडर तराई झर्ने मूर्ख हुन झैँ लाग्छ ।’