काठमाडौँ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ हाडाकोटका उदयबहादुर शाही हाटाकोटबाट प्रशासनिक मार्ग जादा जति खुशी थिए आज त्यहाँभन्दा बढी दु:खी छन् । कारण हो गएको भदौं १३ गते राती परेको अविरल बर्षातका कारण सडकबाट आएको पानीको भल,लेदोले पाखोवारी र खेतवारी बगाई दिएपछि उनी दुःखी बनेका हुन् ।
गाउँको बीचबाट प्रशासनिक सडक आए सुखका दिन आउने आशा राखेका शाहीको प्रशासनिक सडककै कारण खेतबारी बगाएपछि उनी दुखीत छन् ।
प्रशासनिक मार्गमा सडक निर्माण सँगै नालीको उचित व्यवस्था नहुँदा सडकको पानी गाउँ पसेपछि किसानले लगाएको मकैबारी, खेतबारी खोला खोल्सा बगरमा परिणत भएका छन् । पाक्नै लागेको मकै समेत बाढीले बगाईदिएपछि के खाने भन्ने चिन्ताले पिरोल्ने गरेको उदयबहादुर शाही बताउँछन् ।
यो वर्ष उत्पादन राम्रो बनाउनका लागि खेतवारीमा राम्रो सँग मलप्रसो (कम्पोष्टमल) गरेको थिए,’ उनले भने, ‘समयमा पानी राम्रो परेकाले खेतवारीले राम्रो उत्पादन दिने आश जागेको थियो । एक हप्ता अघि आएको आएको बाढीले १० रोपनी खेत बगाईदियो । मकै बाली बँदेल र बाँदरले खाएर सिध्याए ।’
बाढीले १० रोपनी खेत बगाएपछि अहिले उनीसँग २ रोपनी मात्र खेतवारी बचेको छ । त्यसै मकैबाली बदेलले खाएर सिध्याएर पीर परेको शाहीले १० रोपनी खेत नै बाढी पहिरोले बगाएपछि चिन्तित छन् । बाढी पहिरोले सबै सिध्याएपछि ११ जना परिवार कसरी पाल्ने भन्ने चिन्तामा रहेको शाही बताउँछन् । वडासरकार,पालिका र प्रदेश सरकारले छिटो राहतको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
उदय मात्र होइनन् सोही ठाउँका हर्कबहादुर शाहीको पिडा पनि कम छैन । कुतियाँखोलामा ८ रोपनी जमिन बाढी पहिरोले बगायो । त्यही खेत नै शाही परिवारको हातमुख जोर्ने एक मात्र जमिन थियो । यही खेतबाट हामी जहानपरिवार पालिएका थियौं । अहिले बाढी पहिरोले सखाप पारिदियो । कसरी जहान परिवार पाल्ने,छोराछोरी पढाउने हो,’उनी भन्छन्, ‘गाउँमा कतै काम पाईदैन । पहिरोले गर्दा नै अब परिवार पाल्न मजदुरीका लागि मुग्लान जानुपर्ने भयो ।’ हर्कबहादुर १० रोपनीखेतवारी बगाएर २ रोपनी मात्र बचेको छ ।
त्यस्तै हाडाकोट सिस्ने वयाताडामा खेतवारीमा बाढी बगाएर वगरमा वनाईदिएको गणेशबहादुर शाहीले बताए । मेरो प्राण धान्ने यही खेत थियो । तर वाढी बगाईदियो ।
बिच भागबाट भल पसेपछि १८ घर उच्च जोखिममा
बाढी पहिरोले गाउँको बिच भागबाट भल पसेपछि चामुण्डाविन्द्रासैनी नगरपालिका –३ केलाडी बस्तीका १८ घर उच्च जोखिममा परेका छन् भने ५ घर जोखिममा रहेको वडाकार्यालयले जनाएको छ ।
वडाअध्यक्ष दिपबहादुर शाहीका अनुसार वाढी पहिरोले सिचाईकुलो १० वटा, खानेपानीका मुहान ७ वटा, सिचाईकुलोको पुल, समेत बगाएको जानकारी दिए । पहिरोकै कारण हाडाकोट स्वास्थ्य चौकीको भवन समेत जोखिममा रहेको उनले बताए ।
पहिरोले पिउने पानीको मुहान र पाइप पहिरोले बगाइदिएपछि पिडित परिवारले पिउने पानीको समस्या भोक्नु परेको छ । पहिला घर आँगनमै पानी धारा थिए । पहिरोले बगाईदिएपछि टाढा टाढाको मुहानमा पानी लिन जानुपरेको अमरबहादुर विकले बताए ।