काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन गरिएको छ । श्रृङ्गारिक महा आरतीको आयोजनामा ठाटीकाँध गाउँपालिका -१ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन गरिएको हो ।
ठाटीकाँध गाउँपालिका -१ ठाटीकाँध बजार स्थित श्री कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधमा प्राविधिक शिक्षा संचालनको लागि महा-महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । यहि भाद्र १८ गतेबाट सुरु भएको महा-महोत्सव २४ गतेसम्म संचालन हुने वडा नम्बर -१ का वडा अध्यक्ष चक्र विकले बताए ।
धार्मिक महा-महोत्सवबाट प्राप्त आम्दानी प्राविधिक शिक्षा संचालनार्थ खर्च गर्ने श्रृङ्गारिक महा-आरतीका संयोजक गणेश शाहीले बताए । उनका अनुसार सामाजिक शान्ति, सदभाव, भाइचारा, सामाजिक एकता कायम गर्न र प्राविधिक शिक्षा संचालन गर्नका लागि शैक्षिक एवंम धार्मिक महोत्सवको आयोजना गरिएको शाहीले बताए । यस्तो खालको धार्मिक महोत्सवबाट ग्रामीण समाजमा भएका रुढीवादी सोच, बिचारधारा, र अमर्यादित बन्दै गइरहेको समाजलाई मर्यादित समाज बनाउनका लागि शैक्षिक एवंम धार्मिक महोत्सवको आयोजना गरिएको हो,’उनले भने, ‘हाम्रो समाजको स्थिती बिग्रदै गइरहेको छ । अनुशासनमा नबस्ने कुनै पनि मानिसको कदर नगर्ने स्थितिलाई धार्मिक कार्यक्रमको माध्यामबाट अनुशासनका कुराहरुलाई धार्मिक दर्शन र कथावाचनले समाजको मर्यादा कायम गर्छकि भनेर आयोजना गरेका हौँ ।’
पछिल्लो समय समाज गलत बाटोमा हिडेकोले समाजलाई सत्य मार्गमा डोहो¥याउनका लागि शैक्षिक एवंम धार्मिक महा महोत्सवको आयोजना गरिएको शाहीले बताए ।
शैक्षिक एवंम धार्मिक महामहोत्सवमा पण्डित जीवन न्यौपाने (शास्त्री)ले कथा बाचन गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिए ।
१८ गते देखि २४ गतेसम्म सञ्चालन हुने महामहोत्सवको लागत खर्च आठ लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिव २० देखि २५ लाख संकलन हुने अनुमान गरिएको ठाटीकाँध गाउँपालिका -१ का वडा अध्यक्ष चक्र विकले बताए ।
वडाअध्यक्ष विकका अनुसार कृष्ण माध्यामिक विद्यालय र ठाटीकाँध गाउँपालिकाको समन्वयमा भएको महा-महोत्सवमा भजन किर्तन, प्रबचन हुने छ ।
पठनपाठन प्रभावित
विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव गर्न नहुने भने पनि पालिकाबाट नै कार्यक्रम गर्न अनुमति दिएको श्री कृष्ण माध्याकि विद्यालयका प्रधानाध्यापक इलामल्ल शाही बताउँछन् ।
आफुले विद्यालयमा उक्त कार्यक्रम संचालन गर्न नहुने बताएकी थिएँ,’उनले भनिन्, ‘माथिल्लो निकायबाटनै विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महामहोत्सव संचालन गर्न दिएपछि हामी पनि अनुमति दिन बाध्य भयौँ ।’
वर्षातको समयमा बाहिर कार्यक्रम गर्दा अप्ठेरो हुने भएकाले विद्यालयमै शैक्षिक एवंम धार्मिक महा महोत्सव संचालन गरिएको वडा अध्यक्ष विक बताउँछन् ।