काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका १६ वर्षीय विकल सुनार एसईई परीक्षाको नतिजा कुरिरहेका थिए ।
तर, जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलले नतिजा हेर्नै पाएनन् । यही मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए । उनी बितेको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे । तर उनले आफू पास भएको खुसी बाँड्न पाएनन्, पहिरोले उनलाई सदाका लागि लगिसकेको छ ।
मंगलबार रातिको पहिरोले घर पुर्दा सुतेकै ठाउँमा १६ वर्षीय विकलको ज्यान गयो । पहिरोमा उनका दाजु १८ वर्षीय मिलन सुनार गम्भीर घाइते भए । दाजुभाइ सँगै सुतिरहेको अवस्थामा झरेको पहिरोले घरलाई सोहोर्दा उनीहरू घाइते भएका थिए ।
एसईई नतिजा आउने खबरसँगै प्रतिक्षामा रहेका उनले अब ११ पढ्न पाउने छैनन् । पहिरोसँगै विकलका सबै सपना विलाएका छन् । यो सामुदायिक विद्यालयले अन्यभन्दा अब्बल नतिजा पनि निकालेको छ । यस पटक एसईई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।
जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३.२ जीपीए ४ जना र २.८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।
पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर दाजु मिलन बाँचे, भाइ विकल सधैँलाई अस्ताए । विकललाई अस्पताल लाँदै गर्दा उनको प्राण गएको दोर्दी गाउँपालिका-९ वडाअध्यक्ष आशीष तामाङले बताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।
विकल बितिसकेको २४ घण्टापछि उनी २.८० जीपीए ल्याएर उत्तीर्ण भए । विकलको निधनको खबरले जनकल्याण मावि परिवार स्तब्ध छ । विकलकी आमा स्वास्थ्य स्वमय् सेविका हुन् । उनका बुवा किसान हुन् । बुवा रामकाजी सुनारले छोरालाई राम्रोसँग उच्च शिक्षा पढाउन बुनेको सपना तुहिएको छ ।
एकातिर कान्छो छोराको निधनको शोक छ भने अर्कातिर जेठा छोरा मिलनलाई बचाउने चुनौती उनलाई आइपरेको छ । मध्यराति परेको बज्रपातले सुनार परिवारमा सन्नाटा छाएको छ ।
वडाअध्यक्ष तामाङ सुनार परिवारलाई राहतका लागि कोसिसमा छन् । उनले जिल्ला सदरमुकामसम्म पुगेर राहतको पहल गरिरहेका छन् । लमजुङमा यो मनसुनमा बाढी पहिरोले ५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ बाढी पहिरोको उच्च जोखिम कायमै छ ।