काठमाडौँ । समथर सुकिपिप्ली । आशै-आशले भरिएका राजनीतिक दलका आश्वासन । त्यही आश्वासन बिचमै करिब ४० वर्ष बिते । २०४० सालमा आएको साविकको सात्तला –६ का २१ दलित परिवारको खेतीवारी बाढी पहिरोले बगाएपछि गाउँकै ठालु भलाद्मीले सुकिपिप्ली जंगलमा बस्ती बसाले । बाढीपहिरोले खेतीबारी बगाएपछि सुकुम्बासी बनेका दलित परिवारमध्य केहीको लालपूर्जा पाउने आसमै संसार छाडे । कोही जीवनको उत्तराद्धमा रहेका छन् । गाउँकै ठालु भलादमीले सुकिपिप्ली जंगलमा बस्ती बसालेपछि पिडित दलित समुदायले जंगल मासेर टहरा निर्माण गरि बास बसे ।
त्यही मध्यका एक हुन् बाढी पहिरोले उठिसबास लगाएर चारदशक सम्म सुकिपिप्लीमा बस्दै आएका धनरुप नेपाली । अहिले उनी ६० बर्षका भए । १२ बर्षकै उमेरमा सुकिपिप्लीमा बसाई सारेका धनरुपको बालोजोवन यहीँ खेल्दै हुर्किदै कपाल फुलेर सेताम्य भईसकेको छ । तर, सुकिपिप्ली बस्तीमा बसोबास गरेको ४० बर्ष पुगिसम्दा पनि उनी सहित २१ घरपरिवारका दलित समुदायले अझै सम्म लालपूर्जा पाएका छैनन् ।
लालपूर्जा देखेर मर्ने चाहना भएका कतिपय व्याक्तिको लालपूर्जा पाउने आश-आशैमा मुत्यु भईसकेको छ । लालपुर्जा पाउने आशा जीवितै रहेको धनरुप नेपाली बताउँछन् । आशा त कहाँ म¥थ्र्यो, आशै-आशले यतिका बर्ष विते',उनी भन्छन्, ‘यो सडकमा कोही नयाँ गाडी चढेर आयो की लालपूर्जा दिने मान्छे हुनकी भनेर हेरिरहन्छौँ । जब गाडी वेवास्ता गर्दै ठाटीकाँध पालिकातिर लाग्छ,मन खिन्न हुन्छ ।’
अवस्था ज्यूकात्यूँ
नेपालमा ठुल–ठुला राजनीति परिवर्तनले व्यवस्था बदलिए पनि सुकिपिप्लीमा बस्दै आएका दलित समुदायको अवस्था भने अहिले पनि ज्यूका त्यूँ नै छ । त्यहाँका दलित समुदायका अवस्थाले संघीय,प्रदेश र स्थानीय सरकारलाई कम्ती गिजोलेको छैन । लामो समयदेखी यहाँ बस्दै आएका दलित समुदायप्रति लालपूर्जा दिलाई दिने आश्वासन पाए पनि लालपूर्जा नपाएको ७० वर्षिय कपुरे नेपाली बताउँछन् । आजभोली एउटै चिन्ताले बारम्बार सताउने गरेको छ', उनले भने, ‘लालपूर्जा नदेखेरै मर्ने भईयो । लालपूर्जाकै आशलाई एक पुस्ता नै पराई भईसक्यो,अब दोस्रो पुस्ताले पाएपनि हुने ।’
गाउँकै बुद्धिजिवी,भद्रभलादमी कै सहमतिमा यो समुदायलाई यहाँ ल्याएर राखे पनि आजभोली जस्तो बस्ती नभएको घना जंगलमा जंगली जनावरको उत्तिकै डरत्रास थियो । तर पनि २१ घर दलित परिवारले डरत्रासमै ४० बर्ष बिताएको उनीहरु बताउँछन् ।
राती सुत्न सकिदैन थियो जताततै जंगली जनावरले कतिखेर आक्रमण गर्छन् भन्ने चिन्ता थियो, कपुरे नेपाली भन्छन्, ‘बालबच्चालाई सुताएर जाग्राम बस्नु पथ्र्यो । दिनमा सुत्यौं । राती डियुटी दिनुपथ्र्यो । बस्तीमा पानीको पनि उस्तै समस्या थियो । घना जंगल भएकोले एक्लै पानी ल्याउन जान सकिदैन थियो । समुह बनाएर आवाज निकाल्दै दुई घण्टा पैदल हिडेर चिनेखोलाबाट पानी ल्याउनुपथ्यौँ ।’
सडक संजालमा जोडिएपछि आशा पलाउनुपर्नेमा झनै निराशा थप्यो
पहिले घना जंगल र जंगली जनावरको डरत्रासका बिच करिब ४० वर्ष बिताएका यो समुदायले लालपूर्जा पाउनु त कता हो कता उल्टै जग्गामा दाबी गर्नेको संख्या बढ्दो छ । बस्ति नजिकैबाट मध्यपहाडी राजमार्ग र सुकिउपप्ली बस्ति सडकमा जोडिएपछि बस्ति बाहिरकाको नजर गड्न थालेको सुपिप्ली समुदाय बताउँछ । सुकिपिप्ली बस्ती केन्द्रविन्दु बनेसँगै आफ्नो जमिन भन्दै दाबी गर्नेहरुको संया बढ्दो रहेको छ ।
नजिकैबाट मध्यपहाडी राजमार्ग र सुकिपिप्ली बस्तीको बिचबस्तीबाट रामघाट सिगासैन सडक गएको छ । खुल्लाचौर भएकोले सुकिपिप्ली बस्ती सडक सञ्जालमा जोडिएपछि बस्तीका बासिन्दा सुविस्ता हुने आशा पलाए पनि त्यहाँभन्दा बढी निराशा छाएको लालबहादुर नेपालीले दुखोसो गर्छन् । हामी गरिबलाई पहिला जंगली जनावरले खाला भनेर सात्तलाका ठालु भलादमीले जंगलमा बास बसाँले',उनले भने, ‘सडक सञ्जालसँग यो बस्ती जोडिएपछि सबै मेरा बाबु बाजेको भनेर जग्गा नाप्न दिएनन् । अहिले सम्म हामी सुकुम्बासी नै छौं ।’
भूमिसुधार लागु भएयता जग्गा नापी भएपनि केही स्थानीय बासीले हाम्रा बाबु बाजेको भैसीँ राख्ने चौर हो भनेर विवाद गरेपछि लालपुर्जा नपाएको हंस नेपाली बताउँछन् ।
लक्ष्मी उमाविलाई एक कित्ता जग्गा नाप उपलब्ध गराएको समयमा दलितबस्तीको नाममा पनि एक कित्ता जग्गा नापिएको पछि विवाद भएपछि नापीका कर्मचारीले दिएनन्',उनले भने, ‘जंगलको विचस्थानमा रहेको चौरमा कोही वस्ने नभएपछि हामीलाई चौर बस्न दिए, अहिले सडक सँग बस्ती जोडिएपछि हाम्रो भनेर दावी गर्छ ।’
लालपूर्जा लिनलाई नापी कार्यालय जाँदा विवाद परेको मिलाएर आउनुहोस भनेपनि विवाद गर्नेले नमान्दा लालपुर्जा नपाको उनले बताए ।
नेताहरुको लागि भोट बैंक
करिब ४० वर्ष बिताएका उनीहरुलाई लालपूर्जा नभएको ४० बर्ष पुगीसक्दा पनि दलित बस्तीलाई कसैले सहयोग नगरेर भोट बैंक मात्र बनाएको दलित परिवारको दुखेसो छ । ‘राजनितिक दलका नेताले चुनाव हुने बेला हामीलाई भोट दिनुहोला । लालपूर्जाका लागी हामी पहल गछौं भन्छन । जितेर गएपछि कोही सुनुवाई नै नगर्ने गरेको उनीहरुको गुनासो छ ।
२०४० साल यता धेरैजना सांसद भए । चुनावताका बेला आश्वासन दिन्छन् जितेर गएपछि चासो समेत राख्दैनन हामीहरु उनीहरुका लागि भोटबैंक मात्र भयौँ । हाम्रो यस्तै अवस्था रहने हो भने आगामी निर्वाचनमा कसैको भोट बैंक नहुने उनीहरु बताउँछन् ।
२०५६ सालको आमनिर्वाचनमा यही गाविसबाट नेपाली काँग्रेसबाट विजय भएका शिवराज जोशीले त हेरेनन् ‘अरु कहाँका हुन् कहाँका ।’ अहिले सम्म भएका सबै चुनावमा आफुहरुको लालपुर्जा पाउ भन्ने माग राखिरहेपनि नेताहरुबाट सुनुवाई नभएको सुकिपिप्लीबासीको भनाई छ ।
लालपुर्जा बनाई दिने आश्वासन २०६४ नेकपा एमालेकाका सभासद राजबहादुर बुढा,२०७० सांसद लक्ष्मी पोखरेल २०७४ राजबहादर शाही (प्रदेश) संघीयमा राजबहादुर बुढा र २०७९ मा विनोदकुमार शाह (प्रदेश)र दिक्पाल कुमार शाही (संघीय) सांसद बने तर अहिले सम्म लालपूर्जा नपाएको उनीहरुको गुनासो छ । भोट लिनको लागि लालपूर्जा बनाई दिने आश्वासन दिएको दलित समुदायको भनाई छ ।
'चुनाव चितेर गएका नेता बदलिए, हाम्रा दुःख बदलिएनन्'
चुनाव जितेर गइसकेपछि अहिलेसम्म नेताको अनुहारसम्म देख्न नपाएको यो समुदाय बताउँछ । चुनाव जिताएर पठाएका नेता मात्र बदलिए,तर हाम्रा दुःख बदलिएनन् उस्तै छन् ।
सुकिपिप्ली चौरलाई एयरपोर्ट क्याम्पस निर्माणको लागी राम्रो मानिएकाले दलित वस्तीलाई नदिएको स्थानीय बुद्धिजिवीको भनाई छ । तर, दलित परिवार भने हामीले झण्डै चार दशक भोगचलन गरिसकेकाले कुनैपनि हालतमा बस्ती नउठाउने सो बस्तीका अगुवाको भनाई छ । सुकिपिप्ली बस्ती कर्णाली राजमार्गबाट ७ किलोमिटर टाढा छ भने मध्यपहाडी राजमार्ग र रामघाट सिगासैन सडक संग जोडिएको छ ।
बाढी पहिरोले खेतबारी बगाएका लामो समयदेखी बसोबास गरेका सुकिपिप्ली लगायत अन्यत्रका सुकुम्बासीलाई स्थानीय सरकारको रोहबरमा लालपूर्जा दिईने भूमि सम्बन्धि समस्या आयोगका पहल गरिरहेका बेला सरकारले खारेज गरिदिएपछि हामीलाई झनै निराशा छाएको छ ३९ बर्षिया खजुराले भनिन् । स्थानीय सरकारले निस्सा वितरणका लागि तथ्यांक संकलन गरिरहेको आठविस नगरपालिकाले जनाएको छ ।