रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेका सहिद परिवारका सदस्यलाई बोका वितरण गरिएको छ ।
वडा भित्र रहेका सहिद परिवारका ७ जना सदस्यलाई बोका वितरण गरिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको बाख्रा मिसन कार्यक्रम अन्तर्गत वडामा रहेका सहिद परिवारका बाख्रा पालन गर्ने कृषकलाई १र १ वटाका दरले जमुना पारी जातको बोका वितरण गरिएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।
उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालयको ७० प्रतिशत अनुदानमा कृषकले बोका पाएका हुन् । यसमा ३० प्रतिशत भने किसानको लगानी रहको छ । बोकासँगै बाख्राको लागि घाँस खुवाउन प्रयोग गरिने फलामको टाट्नो पनि कृषकले पाएका छन् । प्रत्येक बोकाको मुल्य ५० हजार रहेको अध्यक्ष पुनले जानकारी दिए ।
बाख्रा मिसन कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयको ३ लाख र कृषकको १ लाख ३० गरेर जम्मा ४ लाख ३० हजार रुपैयाँको कार्यक्रम हो । बोका प्राप्त गरेका सहिद परिवारका सदस्यले १० देखि ३० वटासम्म बाख्रा पाल्ने गरेका छन् । वडामा सहिद परिवारका ९ घरपरिवार रहेपनी २ घरपरिवार बाख्रा पालन नगर्ने भएकाले वडामा रहेका ७ घरपरिवालाई मात्र बोका वितरण गरिएको हो ।
३ देखि ५ वर्षसम्म बाख्रा मिसन कार्यक्रम सञ्चालन हुने भएकाले आगामी वर्षहरुमा अन्य कार्यक्रमहरु हुने भएकाले वडाका अन्य किसानहरुलाई यस कार्यक्रममा जोड्न सकिने वडा अध्यक्ष पुनले जानकारी दिए । बोका वितरण कार्यक्रम वडाको कुनै लगानी नभएपनी वडाले समन्वय तथा सहकार्य गरेको वडा कार्यालयले जनाएको छ ।
बाख्रा मिसन कार्यक्रमले पशुपालन गर्ने कुषकको आर्थिक अवस्था सुधार हुनुका साथै कृषकलाई हौसला प्राप्त हुने पशु अस्पताल तथा पशु सेवा कार्यालयले रुकुम पश्चिमले जनाएको छ । बोका वितरण कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालका प्रमुख शेरबहादुर खड्का, वडा अध्यक्ष पुन लगायत वडाबासीहरुको सहभागिता रहको थियो ।