काठमाडौँ । दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि ल्याइएका ड्रिल मेशीन नेपालगञ्जमा रोकिएका छन् । भारतको कोलकाताहुँदै नेपालगञ्ज आइपुगेका ड्रिलिङ मेशीनहरु सामानमा भन्सार छुटको पत्रमा नाम फरक परेपछि नेपालगञ्जमा रोकिएका हुन् ।
भन्सार छुट पत्रमा नाम त्रुटीहुँदा आठ ट्रक सामान भन्सारमा रोकिएको पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रका सिनियर डिभिजनल भुगर्भविद डा. गणेशनाथ त्रिपाठीले बताए ।
चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न लागिएको हो । यसका लागि ९ जना चिनियाँ प्राविधिकहरु दैलेखमा पुगेर काम गरिरहेका छन् । ‘ड्रिल मेशिन हिड्नु पूर्व नै सबै सम्झौता गरिएको थियो,’ त्रिपाठीले भने, ‘तर खानी तथा भूगर्भ विभाग हुनुपर्नेमा पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्र भएपछि सामान नेपालञ्जमा रोकिएका हुन् ।’
खानी तथा भूगर्भ विभागले डेढ महिना अघि नै नाम सच्याएर अर्थ मन्त्रालयमा पठाएपनि अर्थबाट स्वीकृत नहुँदा नाकामा सामान अलपत्र परेको विभागका प्रवक्ता मोनिका झाले जानकारी दिइन।
समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा रोकिएको र समस्या सुल्झाउन पहल भएरहेको झाले बताइन् । ‘खासै ठूलो विषय हैन्, तर अर्थले नै सम्पूर्ण कर तथा महसुल छुट दिएको पत्र नपठाइदिँदा रोकिएको हो । हामी लागिरहेका छौं, एकदुई दिनमा समस्या समाधान हुन्छ,’ झाले भनिन् ।
२०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जियोजिकल सर्भेका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मत्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो । पत्रमा नाम परिवर्तन गरेको निर्णय गरिदिए सहज रुपमा भन्सारबाट समानहरु दैलेख पठाउने सहज हुने भएकाले दोहोर भाडा निर्माण कम्पनीले तिर्नु परेको केन्द्रका भूगर्भविद डा. त्रिपाठीले बताए ।
भन्सारमा रोकिएका सामानहरु सुर्खेतबाट कर्णाली राजमार्गहुँदै चामुण्डाविन्द्रासैनीबाट अन्वेषण खानीस्थल दैलेखको जलजले पु¥याइनेछ । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजना ड्रिलिङ प्रक्रियामै थन्किएको छ । नेपाल र चीन सरकारबीच सन् २०१७ मा परियोजनामा सम्झौता भएको थियो ।