सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको टिल गाउँ बीस घरधुरीमा सीमित भएको छ। गाउँमा बसेर खेतीपाती गर्नुभन्दा सहरप्रतिको मोह र सहरमा गएर व्यापार व्यवसाय गर्दा सहज भएको भन्दै तिल गाउँवासीको गाउँ छोड्ने क्रम बढेको हो।
टिल गाउँ यसअघि भएको ५४ प्रतिशतभन्दा बढी घरधुरीले दश वर्षयता गाउँ छोडेर गएको पाइएको छ। टिल गाउँका स्थानीय छिरिङ तामाङले दश वर्षयता टिल गाउँबाट गाउँ छाडेर काठमाडौं जाने घरधुरी ५४ दशमलव ५४ प्रतिशत रहेको बताए ।
सहर जाने क्रम बढेको भन्दै यसले गाउँ रित्तिने चिन्ता थपिएको छ। पहिला फाट्टफुट्ट टिल गाउँका मानिस ब्यापारको सिलसिलामा काठमाडौं र भारतको दिल्ली जाने गरे पनि ६ महिनापछि गाउँ फर्कने गरेको तर अहिले भने घर बन्दै गरेर गाउँ छोड्नेको संख्या बढिरहेको छ।
गाउँमा बस्ने पनि बूढाबूढी, अपांगता भएका व्यक्ति र एक दुई जना बालबालिका मात्र छन् । गाउँ छाडेर काठमाडौं जानेहरूले घर बन्दै गरेर गएका छन्। गाउँमै बस्नेहरू पनि चीनको ताक्लाकोटमा काम गर्न गएको र त्यतै काम गरिरहेका कारण गाउँमा ५० जना मानिस मात्र बसिरहेका छन्।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले टिल गाउँमा ४४ घरधुरी रहेकामा हाल २० घरधुरीले मात्र बसोवास गरिरहेको जानकारी दिए।
दश वर्षयता गाउँ छोडेर जानेको संख्या २४ पुगेको बताउँदै बर्सेनि दुईदेखि तीन घरधुरीले गाउँ छाड्ने गरेका छन्। गाउँ छोडेका ती घरधुरीमा ताला लागेको छ भने जग्गा जमिन बाँझिएको छ।
छाड्ने घरधुरीका बासिन्दाले आफूसँग भएका महँगा सामान भने सँगै लगेका छन्। गाउँमा बढी दुःख हुने तर सुख नहुने निष्कर्ष गाउँ छोड्ने टिल गाउँवासीको छ। खाद्यान्न, लत्ता कपडालगायत सबै सामान बाहिरबाट बोकेर ल्याउनुपर्ने बाध्यताले पनि गाउँ छोड्ने बढिरहेका हुन्।-देशसञ्चार