ललितपुर, १५ भदौ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
सोमवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको बताए। यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ।
आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक १९० सङ्क्रमित फेला परेका हुन्। ललितपुर ६७ र भक्तपुरमा ४१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। उनका अनुसार अहिले देशभरि १७,८२२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,१२१ जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।सोमबार पुष्टि गरिएको सात मृतकमध्ये महोत्तरीकी चार वर्षीया बालिकासहित तीन जना महिला रहेका छन्। गोर्खाकी ६२ वर्षीया र रूपन्देहीका ६८ वर्षीया महिलाको पनि गएको २४ घण्टामा निधन भएको छ। सो अवधिमा निधन हुने पुरुषहरूमा झापाका ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय व्यक्ति रहेका छन्।
आइतवार सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाण्डू जिल्लाका १९० जना रहेका छन्। त्यस्तै सर्लाहीमा १०३ र चितवनमा ७१ जनामा सङ्क्रमण भएको छ।
सो अवधिमा ५८८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ७,३३७ जना छन्। सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका १३२ जना सघन उपचार कक्षमा र १६ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो ।