भरतपुर, ३० साउन । भरतपुर महानगरपालिका क्षेत्रभित्र ३ दिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि एकहप्ता लकडाउन गर्ने भएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको हो ।
अतिआवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गर्ने निर्णय गरेको हो । महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको महानगरले बताएके छ ।
राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदै छ।
महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिएको छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गर्ने बताएको छ ।
भरतपुरमा अहिलेसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन्। संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
र याे पनि हेराैं