ललितपुर, २४ मंसिर । मङ्गलवार नयाँ उचाइ सार्वजनिक गरिएको सगरमाथाको चुचुरोले वर्षौदेखि नेपाल र चीनबीचको सीमा स्तम्भको काम पनि गर्दै आएको सीमा विज्ञहरूले बताएका छन्।
नेपालले सगरमाथालाई आफ्नो हिमालका रूपमा बताउने गरेको छ भने चीनले नेपाल र तिब्बती क्षेत्रमा अवस्थित उक्त हिमालमा आफ्नो दाबी प्रस्तुत गरेका दृष्टान्तहरू पनि छन् ।
तर सन् १९६१ मा तत्कालीन राजा महेन्द्रले चिनियाँ नेता माओत्से तुङ्सँग कुराकानी गरेपछि सगरमाथाका बारेमा उसबेला नेपाल र चीनबीच रहेको सीमा विवाद निरूपण भएको विज्ञहरू बताउँछन्।
यसै वर्ष मे महिनामा चिनियाँ सरकार नियन्त्रित एक टेलिभिजन च्यानलले स्थानीय भाषामा चोमोलुङ्मा भनिने विश्वको सर्वोच्च शिखर चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित रहेको भन्दै केही तस्बिरहरू ट्विट गरेपछि त्यसको चर्को आलोचना भएको थियो।
त्यसपछि उक्त टेलिभिजनले सो हिमाल नेपाल चीन सीमामा पर्ने भन्दै त्यसलाई सच्च्याएको थियो। सगरमाथाको दाबीबारेको रोचक इतिहास
सन् १९६० मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले बेइजिङको भ्रमण गर्दा नेपाल र चीनबीचको सीमा निर्धारणबारे छलफल हुँदा सगरमाथामा चिनियाँ दाबी बाहिर आएको थियो।
उसबेला एउटा चिनियाँ नक्साले सगरमाथालाई मात्रै नभइ सम्पूर्ण महालङ्गुर श्रृङ्खला र त्यसबाहेक नेपालतर्फको ५ माइल क्षेत्रलाई चीनमा देखाएको सन् १९७५ मा प्रकाशित एउटा अनुसन्धानमुलक लेखमा उल्लेख छ।
चीनले मुख्यगरी तीन वटा आधार सहित आफ्नो दाबी राखेको सो लेखमा उल्लेख छ। पहिलो, चीनले तिब्बती मोहडाबाट आरोहण अनुमति दिने गरेको र नेपालले त्यसप्रति कहिल्यै पनि विरोध नजनाएको। दोस्रो, तिब्बतीहरूले चोमोलुङ्मा नाम दिएपनि उक्त हिमालको नेपाली नाम नभएको र भएपनि त्यो भर्खरै दिइएको ।
तेश्रो, पानीढलोबाट दक्षिणमा रहेको थाङ्बोचे गुम्बा कुनै समयमा तिब्बतमा रहेको रोङ्बु गुम्बाको क्षेत्राधिकारमा रहेको। त्यसबेला प्रधानमन्त्री कोइरालाले ती दाबीलाई अस्वीकार गर्दै भूगोल, संस्कृति, इतिहास सबैका आधारमा सगरमाथा सम्पूर्ण रूपमा नेपालको रहेको बताएका थिए।
बीपीले चिनियाँ प्रधानमन्त्रीलाई चोमोलुङ्मा नाम चिनियाँ नभै तिब्बतबाट आएको उल्लेख गर्दै विश्वको सर्वोच्च शिखरको नेपाली नाम सगरमाथा रहेको जवाफ दिएको प्रसङ्ग आफ्नो आत्मकथामा उल्लेख गरेका छन्। दुवै प्रधानमन्त्रीबीच कुरा नमिलेपछि यो विषयमा कोइराला र चिनियाँ नेता माओबीच कुराकानी भएको थियो।
त्यसबेला माओले दुई देशले संयुक्त स्वामित्व कायम राख्नसक्ने र सगरमाथालाई मितेरी चुचुरो मान्न सकिने धारणा राखेका थिए। नेपालभित्र पर्ने चुचुरोलाई साझा मान्न आफूले नमानेको बीपीले आत्मकथामा उल्लेख गरेका छन्। चीनको भ्रमणबाट स्वदेश फर्किएपछि प्रधानमन्त्री कोइरालाले चीनले सगरमाथामाथि दाबी गरेको विषय सार्वजनिक गरिदिएका थिए।
त्यसले नेपालमा चीन विरोधी भावना पैदा गरायो। सन् १९६० को एप्रिलमा सत्तारूढ नेपाली कांग्रेसको नेतृत्वमा चिनियाँ दाबी विरूद्ध १८ वटा सामाजिक समूहले राजधानीमा प्रदर्शन गरेका थिए।
सन् १९५० यताको नेपाल चीन सम्बन्धबारे पुस्तक लेखिरहेका अमिश मुल्मी भन्छन्, “नेपालमा भएको सम्भवतः पहिलो चीनविरोधी प्रदर्शन सगरमाथाको विषयलाई लिएर भएको हो। त्यही वर्ष तिब्बती मोहडाबाट पहिलो पटक सगरमाथाको सफल आरोहण भएको थियो।”
ती विरोध प्रदर्शन चिनियाँ प्रधानमन्त्रीले त्यसै वर्षको एप्रिल अन्त्यमा गरेको नेपाल भ्रमणमा हुन नदिन प्रधानमन्त्री कोइरालाले सगरमाथाको विषयमा चिनियाँ पक्षसँग कुराकानी गर्ने बताएका थिए।
त्यसबेला आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्रीले कोइरालासँगको भेटमा माओले सगरमाथालाई सिमानाका रूपमा देखाइएको नेपाली नक्सा आफूलाई मान्य भएको बताएको उल्लेख गर्दै हिमालको उत्तरी भाग चीनको र दक्षिणी भाग नेपालको हुने नक्शाङ्कन चीनलाई मान्य हुने बताएका थिए।
त्यसको जवाफमा प्रधानमन्त्री कोइरालाले दुई देशबीचको मतभिन्नता साँघुरिएको र भूगोल एवम् ऐतिहासिक तथ्य अध्ययन गरेर उक्त विषयको हल खोज्ने धारणा राखेका थिए।
त्यसबेला नेपाल र चीनका नेताहरू उक्त विवादलाई संयुक्त सीमा समितिमार्फत् नभै दुई देशबीचको उच्चतम राजनीतिक तहबाट सामझदारीमा पुग्न सहमत भएका थिए। राजा महेन्द्रले सन् १९६१ मा चीनको भ्रमण गर्दा सगरमाथाबारेको विवाद निरूपण गर्ने अन्तिम प्रयास गरियो।
जननिर्वाचित सरकार अपदस्थ गरी राजा महेन्द्रले सत्ता हातमा लिएको उक्त समयमा चीन र भारतबीच पनि सम्बन्ध बिग्रिएको अवस्था थियो।
सन् १९६१ अक्टोबर १ देखि ५ सम्म भएको भ्रमणको अन्तिम दिन दुवै देशका राष्ट्रध्यक्षहरूले नेपाल अधिराज्य र जनवादी गणतन्त्र चीनबीच भएको सीमा सन्धिमा पिपुल्स कंग्रेस हलको भवनमा हस्ताक्षर गरेका थिए।
उक्त सन्धिको ११ औँ बुँदामा सगरमाथाहुँदै सीमारेखा अघि बढ्ने उल्लेख गरिएको छ। उक्त राजकीय भ्रमणबाट स्वदेश फर्किएपछि राजा महेन्द्रले चीनसँगको सीमा सन्धिले नेपाललाई करिब ३ सय वर्गमाइल भूमि लाभ भएको र ’सगरमाथा आज जसबारे संसारको आँखा परेजस्तो लाग्दछ जस्ताको तस्तै हाम्रै देशभित्र हाम्रै भएर रहेको छ’ भनेर वक्तव्य जारी गरेका थिए।
त्यसबेला आफ्ना प्रतिनिधिहरूबीचको समझदारीलाई प्रतीक्षा गर्दै नेपालका राजा र चिनियाँ प्रधानमन्त्रीले एक रात नसुतेरै बिताएको बताइन्छ। नापि विभागका पूर्व महानिर्देशक पूण्य ओलीका अनुसार सगरमाथाको चुचुरो दुई देशबीचको ’सीमा स्तम्भ’ हो।
उनले भने, “ऐतिहासिक कालदेखि नै सगरमाथा नेपालले पनि आफ्नो भन्ने र चीनले पनि आफ्नो भन्ने गर्दै आएका थिए। किन झगडा गरिरहने त्यसको चुचुरोलाई सीमा स्तम्भ मानौँ भनेर राजा महेन्द्र र माओत्से तुङबीच सहमति भएको हो।”
उनले थपे, “शुरूमा चिनियाँ पक्षले तल नाम्चे क्षेत्रसम्म दाबी गरेको भनिन्छ। हामीले त्यो होइन त्यो त पानी ढलो हो भन्ने जवाफ दिएका थियौँ। सगरमाथाबाहेक मकालु, गैरीशंकर जस्ता हिमाल पनि दुई देशबीच सीमा स्तम्भ जस्तै गरी अवस्थित छन्। ती हिमालका उचाइका आधारमा हामीले अरू तिरका नक्साहरू बनाएका हौँ।”
सरकारी अधिकारीहरू चाहिँ अझै पनि सगरमाथाको चुचुरो नेपाल र चीनबीच साझा हो कि होइन भन्ने बारे प्रष्ट रूपमा बोल्दैनन्। नेपाल र चीनले संयुक्त रूपमा गरेको नक्साङ्कनबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा नापि विभागका महानिर्देशक प्रकाश जोशीले सीमाको विषय परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै स्पष्ट जवाफ दिएनन्।
तर चीन नेपालबारे पुस्तक लेखिरहेका मुल्मी राजा महेन्द्रको चीन भ्रमणका समयमा गरिएको सहमतिले सगरमाथाको चुचुरो दुई देशको साझा रहेको प्रष्ट पारेको बताउँछन्। “चुचुरो दुईदेशबीचको सीमा हो। उत्तरी भूगोल चीनको तिब्बत हो त्यही भएर उनीहरूले त्यहाँबाट पर्वतारोहणको अनुमति दिन्छन्। दक्षिणतर्फ हाम्रो भूभाग परिहाल्यो।”
सन् १९६० को दशकमा सगरमाथाको सीमा विवाद हल गरेका नेपाल र चीन त्यसको झण्डै ६० वर्षपछि संयुक्त रूपमा उचाइ घोषणा गर्ने सहमतिमा पुगेका थिए ।
चिनियाँ राष्ट्रपति सी जीनपीङको भ्रमणका क्रममा भएको उक्त सहमतिको राजनीतिक अर्थ रहेको मुल्मी टिप्पणी गर्छन्। उनले भने, “सगरमाथा अरू कुनै तेश्रो देशको होइन यो नेपाल र चीनको हो। यसको उचाइ निर्धारण गर्नेदेखि यसको नाम र ऐतिहासिक विरासतको विषयमा हामी दुई देशको हक हुनुपर्छ भन्ने चीनले स्थापित गरिरहेको छ।”
राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतिकका रूपमा उल्लेख गर्दै दुवै देशले संयुक्त वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने जनाएका थिए। चीनका विज्ञहरूले सन् १७२१ आसपासमा कोरिएका विश्वका सर्वोच्च शिखरको नक्सा आफूसँग भएको बताउँछन्। ब्रिटिश सर्भेअर जेनरल जर्ज एभरेष्टका नाममा सगरमाथको अङ्ग्रेजी नामाकरण गरिएकोमा असन्तुष्टि जनाउने गरेको पाइन्छ । बिबिसि
र याे पनि हेराै