ललितपुर, ०३ असोज । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताएका छन् ।
यो रेलको क्षमता १३ सय यात्रुको छ। तर एकैपटक यात्रु चढ्दा भने ७ सय मात्रै चढ्न मिल्छ। रेलमा अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ।
सञ्चालनमा आउन लागेको रेलमार्ग ३५ किलोमिटरको छ । जहाँ आठवटा सवस्टेसन छन्। सामान्यतया ५–५ किलोमिटरमा सवस्टेसन भएकाले रोक्दै गुडाउनुपर्ने भएकाले पूर्ण गतिमा चल्न नसक्छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले यो रेल दिनमा तीनपटक ओहोरदोहोर गर्ने बताएका छन् ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलको अघिल्लो र पछिल्लो दुवै भागमा इन्जिन हुने भएकाले प्रतिघण्टा करिब एक सय किलोमिटरका दरले कुद्ने बताए। विभागले यो रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा हुने बिजुलीबाट चल्ने जनाएको छ। रेल ब्रोडग्रेज लिकमा चल्नेछ। सरकारले ८६ करोड रुपैयाँ लागतमा नेपाली झण्डा अंकित रेल निर्माणमा खर्च गरेको छ।
रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई जयनगर–जनकपुर रेलले यात्रु ओसारेर मात्रै खर्च धान्न नसक्ने बताउँछन्। यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड रुपैयाँ आम्दानी गर्ने देखिएको छ। जयनगर–जनकपुरसम्मको प्रारम्भिक साधारणतर्फे भाडा ७५ रुपैयाँ र डिलक्स तथा एसी कक्षको भाडा पाँच सय रुपैयाँ पर्न सक्ने कम्पनीले जनाएको छ। तर निश्चित भाडा भने तय गरिएको छैन। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइसकेको छ।
बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ रातो, निलो र सेतो पेन्ट गरिएको रेल शुक्रबार जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो। कोकर्ण रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल हस्तान्तरण गरेका हुन्।
हस्तान्तरणपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले कोरोना महामारीको जोखिम कम भए जनकपुर–जयनगर–कुर्था रेल सेवा दसैंसम्ममा सञ्चालन गर्ने तयारी रहेको बताए। उनले जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकाले चाँडै रेल सञ्चालन हुने बताए। पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका निम्ति सम्पूर्ण संरचना तयारी भएको छ।
रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ। कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ। महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ। डिजेल तथा विद्युतबाट चल्न मिल्ने सो रेल नेपालको झण्डासहित चाँडै सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् ।
मन्त्रिपरिषद्को वि.सं.२०७५ चैत ४ गतेको निर्णयानुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरिद गर्ने गरेर रेल विभागले भारतीय कोकर्ण रेल्वे कर्पोरेशनसँग सम्झौता गरेको थियो। जिटुजीमार्फत भ्याटबाहेक ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको रेल एक पटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा ११० किलोमिटर यात्रा तय गर्नेछ।
नेपाल सरकारले खरिद गरेको सो रेल भारतको एक कम्पनीले निर्माण गरेका दुई सेट रेलमा आठ वटा वोगी तथा दुई ईन्जिन रहेका छन्। यसमा एक सेट रेलमा एक वटा वातानुकूलित बोगी तथा तीन–तीन सामान्य बोगी रहेका छन्।