ललितपुर, ०२ असोज । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रवार परीक्षणको रूपमा रेल सञ्चालन हुने भएको छ । भारत सरकारको कम्पनी कोंकण रेलवे कर्पोरेशनले निर्माण गरेको रेल बिहीवार बेलुका जयनगर आइपुगेको छ ।
करीब १३ सय यात्रु क्षमता रहेको रेल सीमावर्ती जयनगरबाट आज शुक्रवार जनकपुर ल्याइँदै छ । शुक्रवार रेलको परीक्षण गरिने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।
परीक्षण सञ्चालनका क्रममा रेलमा कुनै समस्या नआए शुक्रवार नै भारतीय कम्पनीले नेपाललाई जिम्मा लगाउनेछ । उक्त रेल कम्पनीकै प्राविधिकहरूले चलाएर नेपालको जनकपुरसम्म ल्याउने भट्टराईले बताए । नियमित रूपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुने छ ।
भारतमा बनेको रेलको यात्रु क्षमता करीब २६ सय छ भने कम्पनीले ती रेल केही साताअघि सीमावर्ती विहारको हाजीपुर ल्याइपु¥याएको थियो ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालनको तयारी भएको छ ।
रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।
रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।
यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागेको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् ।
मिश्रका अनुसार सबै तयारी समयमै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ ।
सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो ।कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।
सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर–जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ ।
३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको विभागले बताएको छ ।
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । यसका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो ।
यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन ।नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ ।
कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।
केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जानकारी दिएको छ ।
पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।