ललितपुर, १५ मंसिर । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या गरिएको हो ।
नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मोटरसाइकलमा आएका हतियारधारीले आफ्नो खेतमा बाली थन्क्याउने काम गरिरहेका पुरुष र महिलाहरुमाथि बर्बर आक्रमण गरेका थिए ।’ उनका अनुसार हतियारधारीले कम्तीमा ११० जना किसानको निर्ममतापूर्वक हत्या गरेका छन् भने आक्रमणमा अन्य धेरै घाइते भएका छन् ।
ठूलो संख्यामा महिलाहरुको अपहरण भएको अनुमान छ । ‘यो घटना यस वर्षको सबैभन्दा हिंसात्मक र प्रत्यक्षरुपमा निर्दोष नागरिकमाथि गरिएको आक्रमण हो । म यो जघन्य र विवेकहीन कार्यको लागि अपराधीहरुलाई कानुनी कारबाहीको लागि माग गर्छु,’उनले भनेका छन् ।
अहिलेसम्म यो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि बोको हरामले यो आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । त्यस्तै नाइजेरियामा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी)ले पनि ठूला आक्रमण गर्दै आएको छ । दुवै संगठन नाइजेरियामा सक्रिय छन् । पछिल्लो दशकमा मात्र ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
साथै नाइजेरियामा जारी युद्धको कारण करिब २० लाख मानिस विस्थापित भइसकेका छन् । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन् । उनी सन् २०१५ मा मुलुकको सुरक्षा संकट समाधानको प्रतिबद्धतासहित राष्ट्रपति बनेका थिए । उनले आतंकवादीले बोर्नो राज्यमा गरेको आक्रमणको निन्दा गर्दै उक्त विवेकहीन आक्रमणबाट समग्र मुलुक आहत भएको बताएका छन् ।
सुरक्षा विश्लेषक सुलेक्ष्मान अलेदेह युद्ध रोक्नमा नाइजेरियाको सरकारको असफलताको कारण धेरै मानिसहरुमा निराशा बढ्दो क्रममा रहेको बताउँछन् । उनका अनुसार पछिल्लो समय नाइजेरियाको सरकारले यो संकटबाट पार पाउनका लागि उल्लेख्य रुपमा केही गर्न सकेको छैन । त्यसैले मानिसहरुको सरकारप्रतिको आक्रोश बढ्दो क्रममा देखिएको छ ।
बोर्नोका गभर्नर बाबाबनगनान जुलुमले संघीय सरकारलाई थप सैनिहरु परिचालन गरी आफ्नो राज्यका किसानहरुको सुरक्षाको लागि माग गरेका छन् । उनले मानिसहरुको फरक फरक किसिमको रोजाइको कारण अहिले आफ्नो क्षेत्रमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ । एजेन्सिको सहयोगमा
र याे पनि हेराै