एजेन्सि, १९ मंसिर । दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन् । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस मास्क, सर्जिकल गाउन र रबरका पञ्जा लगाएका सुरक्षाकर्मी निगरानीका लागि तैनाथ छन् । वेरहाउसको यो क्षेत्रमा छिर्नका लागि या त दुई साता लामो क्वारेन्टाइन पूरा गर्नुपर्छ वा टाउकोदेखि खुट्टासम्म हजमत सुट लगाउनुपर्छ ।
जब चीनमा बनेका कोभिड–१९ भ्याक्सिनले देशका नियामक संस्थाबाट स्वीकृती पाउनेछन्, तब ३ सय ५० मिटरमा फैलिएका तापक्रम नियन्त्रित यी कक्षहरु ती भ्याक्सिनले भरिनेछन् । यहाँबाट ती भ्याक्सिनहरुलाई कार्गो जेटका तापक्रम नियन्त्रित कक्षमा राखेर विश्वभर लगिनेछ । चिनियाँ भ्याक्सिनको अन्तिम चरणको परीक्षण गरेका देशमा आगामी महिना चीनले करोडौँ डोज भ्याक्सिन पठाउनेछ । चिनियाँ नेताहरुले आफ्नो सूचीमा बढ्दो संख्यामा रहेका विकासशील देशहरुमा भ्याक्सिन पठाउने प्रतिबद्धता गरेका छन् ।
यो विश्वव्यापी अभियानले चीनलाई आफ्नो छवि सुधार्ने अवसर दिनेछ । कोरोना भाइरसको महामारीलाई सुरुमै राम्ररी नियन्त्रण गर्न नसकेको भन्दै उसको छवि खराब भएको थियो । तर, अब भाइरसको सुरुवाती फैलावटका लागि दोषी ठहराउने भन्दापनि महामारीको सम्भावित अन्त्यका लागि सहयोग गरेकोमा उसले सम्मान प्राप्त गर्नसक्छ ।
‘बेइजिङले भ्याक्सिनलाई सफ्टपावर बढाउने र अन्तर्राष्ट्रिय प्रभूत्व स्थापित गर्ने साधनका रुपमा पनि प्रयोग गर्नसक्छ,’ वासिङटनस्थित काउन्सिल अन फरेन रिलेसन्सन्सअन्तर्गत ग्लोबल हेल्थकी सिनियर फेलो यान्जोङ हुवाङ भन्छिन् । महामारीको सुरुवातमा उसले अति प्रभावित देशलाई मास्क र अन्य सामाग्रीहरु सहयोग गरेको थियो ।
हुवाङका अनुसार बेइजिङको भ्याक्सिन डिप्लोमेसीले उसलाई अर्को मौका दिनसक्छ । चारवटा चिनियाँ कम्पनीका कुल पाँचवटा कोरोना भाइरस भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छन् । भ्याक्सिनले स्वीकृति पाउनुअघिको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम परीक्षण हो, तेस्रो चरण ।
आफ्नो सीमाक्षेत्रभित्र ठूलो रुपमा कोरोना भाइरस नियन्त्रण भइसकेकाले चिनियाँ औषधि निर्माताहरुले भ्याक्सिनको प्रभावकारिता जाँच्नका लागि विदेशमा परीक्षण कार्यक्रम गर्नुप¥यो, उनीहरुले कम्तिमा १६ देशमा तेस्रो चरणको परीक्षण गरिरहेका छन् । बदलामा, धेरैजसो देशलाई सफल भ्याक्सिन सुरुमै दिने वाचा चिनियाँहरुले गरेका थिए, कतिपय देशलाई स्थानीय स्तरमै भ्याक्सिन उत्पादन गर्न सकिने गरी प्रविधि हस्तान्रतण गर्ने उनीहरुको वाचा छ । बेइजिङस्थित औषधी कम्पनी सिनेभ्याक बायोटेकले ब्राजिललाई ४ करोड ६० लाख र टर्कीलाई ५ करोड डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको छ । त्यसैगरी, चीनले इन्डोनेशियालाई स्थानीय उत्पादनका लागि ४ करोड भ्याक्सिन बल्क (स–सना सिसीमा विभाजित गर्नुअघिको भ्याक्सिन कन्सन्ट्रेट) उपलब्ध गराउँदैछ । चिनियाँ सेनाको अनुसन्धान युटिनसँगै मिलेर भ्याक्सिन विकास गरेको क्यान्सिनो बायोलोजिक्सले मेक्सिकोमा ३ करोड ५० लाख डोज ढुवानी गर्नेछ, मेक्सिकोसहित ५ देशमा यस कम्पनीले भ्याक्सिन परीक्षण भइरहेको छ ।
चीनको सबैभन्दा ठूलो सरकारी औषधी कम्पनी सिनोफार्मअन्तर्गतको चिनियाँ राष्ट्रिय बायोटेक समूहले आफ्ना सम्झौताबारे खुलेर जानकारी बाहिर ल्याएको छैन । यस कम्पनीका दुईवटा भ्याक्सिनहरु १० वटा देशमा परीक्षण भइरहेका छन्, विशेषगरी मध्यपूर्व र दक्षिण अमेरिकामा । युएईका प्रधानमन्त्री तथा दुबईका शासक सेख मोहम्मद बिन रसिदले परीक्षणका क्रममा आफैं भ्याक्सिनको डोज लिएका थिए, यहाँ आपतकालिन प्रयोगका लागि भ्याक्सिनले स्वीकृति पाइसकेको छ । सिनोफार्मसँगको सहकार्यमा युएईको स्थानीय कम्पनीले आगामी वर्ष ७ करोड ५० लाखदेखि १० करोड डोज उत्पादन गर्ने आशा राखेको छ ।
चीनमा ठूलो रुपमा भाइरस नियन्त्रण भइसकेकाले आफ्नो सबै १ अर्ब ४० करोड जनसंख्यालाई तत्कालै भ्याक्सिन लगाउनुपर्ने बाध्यता उसलाई छैन । ‘यसले भ्याक्सिनको आवश्यकता परेका देशहरुसँग सम्झौता गर्नका लागि उसलाई लाभ दिन्छ,’हुवाङले भने ।
अन्तर्राष्ट्रिय हवाई यातायत संघबाट औषधी ओसार–प्रसारका लागि भर्खरै प्रमाणपत्र पाएको यस विमानस्थलमा सन् २०१९ मै फ्रोजन खाना र सामाग्रीहरुका लागि वेरहाउस निर्माण गरिएको थियो । यस वर्षको सुरुवातमा वेरहाउसलाई कोरोना परीक्षण किट भण्डारणका लागि प्रयोग गरियो र अहिले भ्याक्सिनका लागि प्रयोग गरिदैंछ । विमानस्थलले आफ्नो वेवसाईटमा लेखेको छ,‘हामी सेन्चेजलाई कोभिड १९ भ्याक्सिनको विश्वव्यापी वितरणको आधारक्षेत्र बनाउन चाहन्छौं ।’
इथियोपियन एयरलाईन्ससँग पनि साइनियायोको साझेदारी छ, यस र्एयरलाईन्सले चिनियाँ भ्याक्सिनलाई मध्यपूर्व र त्यसपछि अफ्रिकामा पठाउनेछ । महामारी सुरु भएयता यस एयरलाईन्सले सेन्जेनबाट युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकामा ३ हजार टनभन्दा धेरै मेडिकल सामाग्री ढुवानी गरिसकेको छ । साइनियायोेका सिईओ वान लिनका अनुसार विश्वव्यापी पहुँच बिस्तार लागि अन्य रुटहरु पनि थप्ने योजना बनिरहेको छ । ‘ठ्याक्कै कति माग हुन्छ भने हामी अहिल्यै स्पष्ट छैनौं, तर पनि हामी क्षमता बिस्तार गरेर आवश्यक मागका लागि तयारी अवस्थामा बस्नेछौँ,’ उनले भनेका छन् ।
र याे पनि हेराै
सीएनएन